१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

झाँगिदै सम्बन्धविच्छेदः स्वतन्त्रताको खोजी कि सामाजिक विचलन ?

पत्नीपीडित पुरुषहरू पनि सम्बन्धविच्छेदमा अग्रसर



तानसेन । यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीले दुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उनी विवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उनलाई श्रीमान् र घरपरिवारबाट घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने र छोरालाई स्याहार नगरेको आरोप लगाउन थाले ।

आफूमाथिको आरोप मीनालाई सह्य नभएपछि घर झगडा सुरु भयो । श्रीमान्ले दिएको मानसिक तनाव बेहोर्न कठिन भएपछि उनले जिल्ला अदालतमा सम्बन्धविच्छेद (पारपाचुके) सम्बन्धी मुद्दा दर्ता गरिन् । त्यसपछि घरमा थप कलह बढ्यो । उनी आफ्नो घर त्यागेर माइती घरमा बस्न थालिन् । उनको पति–पत्नीको सम्बन्धविच्छेदको मुद्दा गएको जेठ १९ गते अलग हुने सहमतिमा मिलापत्र भयो । हाल ती युवती श्रीमान्बाट अंशसमेत नलिई सम्बन्धविच्छेद् गरेर माइतमा बस्तै आएकी छिन् ।

यसैगरी, रम्भा गाउँपालिकाकी अर्की महिलाले पनि सम्बन्धविच्छेद गरेकी छन् । विदेशमा रहेका श्रीमान्सँग अविश्वास बढेपछि बिहे गरेको ४ वर्षमा सम्बन्धविच्छेद गर्नु प¥यो । तानसेनकी एक महिलाको पनि पीडा उस्तै छ । १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गरिन् । आमाबुबाको काखमा खेल्ने उमेरमा विवाह गरेकी उनले सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि जिल्ला अदालत पाल्पाबाट सम्बन्धविच्छेद गरिन् । पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उनले सम्बन्धविच्छेद गर्नुपरेको बताइन् । “सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो । मैले धेरै दुःख पाएँ, श्रीमान्ले दिएको पीडा सहन नसकेपछि सम्बन्धविच्छेद गरेँ”, उनले भनिन् ।

पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्रै अग्रसर हुने गरेको देखिन्थ्यो । पछिल्लो समयमा पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । रम्भा गाउँपालिकाका एक युवाका आठ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् । २८ वर्षको उमेरमै दुई छोराछोरी पाइसकेका उनले २४ वर्षकी श्रीमती सीमासँग २०८२ असार १९ गते सम्बन्धविच्छेद गरे । श्रीमतीले टिकटक र फेसबुकमा कुराकानी गरिरहने, आफूसँग निहुँ खोजिरहने र भनेको नमान्ने भएकाले सम्बन्धविच्छेद गर्नु परेको उनले बताए ।

रामपुरका ३५ वर्षीय अर्का युवाले पनि २७ वर्षीया श्रीमतीसँग सम्बन्धविच्छेद गरे । २०७० मा प्रेमविवाह गरेका उनका पनि सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् । ती युवाले श्रीमती परपुरुषसँग लागेको थाहा पाएपछि सम्बन्धविच्छेद गरेका हुन् । ‘टिकटकमा परपुरुषसँगको भिडियो हाल्ने, परपुरुषलाई कोठामा बोलाउने, घर परिवारका सदस्यले भनेको नमान्ने भएपछि सम्बन्धविच्छेद गरी पाऊँ’, भनी उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्धविच्छेदका मात्र एक हजार ३५६ वटा मुद्दा दर्ता भएका छन् । अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीका अनुसार २०७९÷८० मा ४४३, २०८०÷८१ मा ४२८ र २०८१÷८२ मा ४८५ मुद्दा दर्ता भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा कुल ८१५ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्र ४८५ रहेका छन् । अधिकांश वैदेशिक रोजगारीमा जाने युवायुवतीको घरायसी सम्बन्ध बिग्रेर सम्बन्धविच्छेदका लागि अदालतसम्म आउने गरेको भेटिने गरेको स्रेस्तेदार पराजुलीले बताए । उनका अनुसार दर्ता मुद्दामध्ये एक हजार १४२ वटा फछ्र्यौट भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग, कम उमेरमा विवाह, वैदेशिक रोजगारजस्ता कारणले गर्दा पारिवारिक बेमेल भएकाले सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका हुन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रबाट बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरेका उनको भनाइ छ ।

अझ रोचक तथ्य के छ भने यहाँ सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा ४८५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ६६ वटा मुद्दा पुरुषले दर्ता गरेका थिए । पुरुषले दिएका अधिकांश मुद्दा पक्षमा फैसला भएका छैनन् । महिला अर्थात् पत्नीलाई प्रतिवादी बनाएर पुरुष अर्थात् पतिले सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दिनेका सङ्ख्या बढेको छ । पछिल्लो वर्षमा यस्ता खालका मुद्दा बढेका हुन् । तर, दाबीसहितको प्रमाण अपुग हुने गरेको पाइएको छ । केही पक्षमा फैसला भएको छ । पुरुषले दर्ता गरेका अधिकांश मुद्दामा प्रमाण नपुगेको अदालतका तहसिलदार रामप्रसाद पोखरेलले बताए । विपक्षी महिलाले प्रतिउत्तर नलगाएका मुद्दा र दाबी अनुसारका प्रमाण पुगेका केही मुद्दामा मात्रै पुरुषको पक्षमा फैसला भएको पोखरेलको भनाइ छ ।

“पीडा दबाएर बसेका पुरुषहरू पनि नयाँ कानुन आएपछि सम्बन्धविच्छेद गर्न अग्रसर देखिएका हुन्,” स्रेस्तेदार पराजुलीले भने, “सम्बन्धविच्छेद अहिले फेसन भएको छ, सम्बन्धविच्छेद गर्न पतिपत्नीबीच प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।” सम्बन्धविच्छेद गर्न आउँदा उनीहरूले कुटपिट गरेको, खान लाउन नदिएको भन्ने गुनासो गर्ने गरेका छन् । तर, वास्तविकता त्योभन्दा फरक भएको पराजुली बताउँछन्। “पछिल्लो समयमा सामाजिक सञ्जाल, श्रीमान्हरू वैदेशिक रोजगारीमा रहेका महिलाहरू सम्बन्धविच्छेद गर्ने गरेको देखिएको छ,” उनले भने, “बर्सेनि सम्बन्धविच्छेद गराउनेको सङ्ख्या डरलाग्दो रुपले वृद्धि भइरहेको छ । अहिले त पुरुषको सङ्ख्या पनि बढ्दै गयो ।”

स्वतन्त्रता र स्वच्छन्दताका नाममा सम्बन्धविच्छेदका घटनाले प्रशय पाएको स्रेस्तेदार पराजुली बताउँछन् । उनले भने, “सकेसम्म पुनः घरबार होस् भनेर हामीले मेलमिलाप गराउने प्रयास गरेका छौँ, तर परिस्थिति सोचेअनुरुप नभएपछि एउटा निर्णय गर्न बाध्य छौँ ।” यसलाई न्यूनीकरण गर्न समाज र अभिभावक सतर्क नरहने हो भने अझ भयावह बन्ने उनको बुझाइ छ । यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्धविच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू सम्बन्धविच्छेदमा अग्रसर हुने गरेको देखिएको अधिवक्ता शिवप्रसाद देवकोटाले बताए ।

सम्बन्धविच्छेद बढ्नुका मुख्य कारण वैदेशिक रोजगार भएको उनको बुझाइ छ । अधिवक्ता देवकोटो भन्छन्, “कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन् । लामो समयसम्म श्रीमान् श्रीमती टाढिँदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शङ्का–उपशङ्का गर्न थाल्छन् र सम्बन्धविच्छेदको बाटो खुल्छ ।” कम उमेरमा विवाह, प्रेम विवाह, पितृ सतात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्धविच्छेद हुने गरेको उनले बताए । देवकोटाले भने, “प्रेमी–प्रेमिकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाँड्ने तर विवाहपछि ती आश्वासन पूरा नगर्ने, अर्कोतर्फ माइतीमा आमा÷बुबाले दिने मानसम्मान सासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान्, श्रीमतीको सम्बन्ध टुट्न पुग्छ ।” सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्धविच्छेद हुने गरेको उनको भनाइ छ ।

सम्बन्धविच्छेदलाई आज पनि पारिवारिक रूपमा कठिन परिस्थितिका रूपमा चित्रण गरिन्छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दा यसको असर उनीहरूका सन्तानमा पर्ने गरेको छ । बच्चाहरूमा त्यस्तो प्रभाव लामो समयसम्म रहने महिला अधिकारकर्मी गङ्गा पौडेल बताउँछिन्। सम्बन्धविच्छेदका सकारात्मकभन्दा नकारात्मक असर भेटिने उनको भनाइ छ तर सम्बन्धविच्छेदसँग बालबालिकाको उदासीपनसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ । “दैनिक हुने झै–झगडाबाट मुक्त हुँदा उनीहरूमा सकारात्मक असर पनि देखिएका हुन्छन्” पौडेल भने ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : ३२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा