१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भक्तपुरमा यसरी प्रदर्शन हुँदै छ ‘निलबाराही द्यो प्याखँ’



भादगाउँ । मध्यपुरथिमि नगरपालिका-८ र ९ बोदेको ऐतिहासिक एवम् धार्मिक महत्वको तान्त्रिकविधि विधानयुक्त मल्लकालीन निलबाराही द्यो प्याखँ अर्थात् निलबाराही गणनाच आज रातिदेखि सुरु हुने भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया) देखि पञ्चमीसम्म चार रात, चारदिन प्रदर्शन गरिने यो प्याखँ बोदेको नारायणथान लाछीबाट सुरु हुन्छ ।

बोदे द्यो प्याखँलेसमेत परिचित यो नाचको देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्धारपाल दुई र गणेश चार गरी १९ जनाको समूह हुन्छ । देवगणका जोकल ९सहयोगी० र बाद्यबाधक गरी सय जना भन्दाबढी व्यक्ति यो नाचमा क्रियाशील हुने गुठी एवम् देवगणका नाईके प्रेमचन्द्र अदुवा श्रेष्ठले जानकारी दिए । यसवर्ष निलबाराही द्यो प्याखँमा नयाँ सदस्यको आगमन भएको छ । श्रेष्ठका अनुसार ऐतिहासिक निलबाराही गणनाचको दोस्रो सिन्द्यो भगवान राजकुमार पाँ को निधनपछि उनको नाति साहिल पाँ दोस्रो सिन्द्यो बन्ने भएको छ ।

यस्तै छोराकाजी घों श्रेष्ठ दाँयादेवी र धनभाजु किला श्रेष्ठ बाँया देवी धाः बाजाको गुरुको रुपमा बढुवा भएका छन् । निलबाराही द्यो प्याखँ तान्त्रिकविधि विधानयुक्त नाच हो । यसमा कठिन विधि विधान रहेको श्रेष्ठले बताए । “यो नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नको लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओत लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तीर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहींँकतै बस्न नहुने र बस्नै भर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ,” उनले भने ।

यो प्याखँ बोदेको लायकु छें, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंँसी टोल, निलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरिन्छ । नाचमा धाँ बाजा, भुस्या, काँय, पोँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरु नाच्ने गुठीका नाइके श्रेष्ठले बताए । यो प्याखँमा एक पटक देवता बनेपछि उनको मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको छ । “देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएमा उनको मुकुण्डो देव घरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ,” श्रेष्ठले भने ।

यो प्याखँ कहिलेदेखि सुरु भएको भन्नेबारे एकीन प्रमाण फेला परेको छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै निलबाराही नाच सुरु भएको स्थानीय वृद्धा बताउँछन् । प्रचलित किंबदन्ती अनुसार परापूर्वकालमा बोदेका स्थानीय धों श्रेष्ठको परिवार ‘चुलिचा’ भन्ने ठाउँमा रहेको खेतमा काम गरिरहेका थिए । उक्त परिवारका सदस्य अचानक हराउँछन । उनी हराएपछि स्थानीयहरुले धेरै खोजी गरेपनि फेला पर्दैन । तर हराएको केही दिनमा उनीहरु आफैं घर आइपुग्छन ।

निलबाराही द्यो प्याखँको प्रचलित कथन अनुसार खेतमा काम गरिरहेको बेला खाजा खाने समयमा खाजाको भाग लगाए । तर तीन जनाको लागि भाग लगाउँदा चार भाग हुन जान्थ्यो । यो भएन भनेर दुई भाग लगाए तर एक जनालाइ भाग नपुग्ने हुन्थ्यो । फेरि तीन भाग मात्रै लगाउँछन् तर चार भाग बन्न पुग्थ्यो । यस्तो घटना भएपछि तिनै जनाले डराएर यहाँ भूतप्रेत पो छन् कि भनी भगवान पुकारा गरे । त्यसपछि निलबाराही माता स्वयम् प्रकट भई ‘यो मैले गरेको हुँ । तिमिहरुलाई निलबाराही नाच सिकाउँछु । यो नाच तीन दिन चार रात नचाउनुपर्छ’ भनी निलबाराही देवीलेसँगै लिएर गए । निलबाराही देवीले निलबाराही जङ्गलको गःख्योमा चार रातसम्म यो निलबाराहीको नाच सिकाइ पुनः खेतमा नै पु¥याएको कथन पाइन्छ ।

निलबाराही स्वयम् मनुष्यको रुप धारण गरी सिकाएको विश्वास रहेको यो नाचको लागि आवश्यक सामान र बाजागाजासमेत देवी स्वय्मले नै बनाएर पठाएको विश्वाससमेत रहेको छ । यसको प्रमाणको रुपमा भैरवले लगाउने तामाको माला रहेको छ, जुन माला त्यही धों श्रेष्ठको घरमा गएर लिन जानुपर्ने र नाच सकेपछि पु¥याउन जानुपर्ने प्रचलन आज पनि रहेको छ ।

यो प्याखँमा देवगणका देवताहरुले आफ्नो सम्पूर्ण खर्च आफू स्वयम्ले नै व्यर्होनु पर्दछ । गुठी नाइके अदुवा श्रेष्ठले भने, “देवतालाई चढाएको भेटी गुठीको कोषमा जम्मा हुन्छ । गुठीमा करिब पाँच रोपनी जग्गा छ, त्यसैको बालीबाट यो नाचको तयारी गरिन्छ ।” उनका अनुसार भेटीबाट सङ्कलन भएको रकमले अन्तिम दिन सामूहिक रुपमा भोज खाने गरिन्छ । निलबाराही द्यो प्याखँ मल्लकालदेखि अटुट रुपमा चल्दै आएको नाच हो । कतिपय गणनाच लोप भइसकेका छन् र लोप हुने अवस्थामा पुगेको छ । मध्यपुर थिमिकै नगदेशमा महाकाली, भैरव, अष्टमात्रिका, थिमिको लाय्कू भैलः, थिमि भैलः, थिमि महाकालीलगायतका गणनाचहरुको प्रदर्शन नियमित छैन । तर बोदेको निलबाराही द्यो प्याखँ अटुटरुपमा सञ्चालन हुँदैं आइरहेको अदुवा श्रेष्ठले बताए ।

पछिल्लो समय यो प्याखँको संरक्षणका लागि मध्यपुर थिमि नगरपालिकाले आवश्यक सहयोग गर्दै आइरहेको छ । निलबाराही द्यो प्याखँको निरन्तरताको लागि आवश्यकता अनुसार विभिन्न बाजागाजा र आर्थिकरुपमा सहयोग गर्दै आइरहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ०८ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै