१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाँच



म्याग्दी । बेनीमा २० वर्षपछि थेत्तोर (धानको बाला) नाँच प्रदर्शन गरिएको छ । नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले मङ्गलबार हरितालिका तीजको अवसरमा मौलिक र परम्परागत थेत्तोर नाच प्रदर्शन गरेका हुन् ।

भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठले २० वर्षपछि बेनीमा थेत्तोर नाच देखाइएको जानकारी दिए । यसअघि विसं २०६२ मा यो नाच देखाइएको थियो । कलाकारहरुको अभावका कारण बर्खेनाचअन्तर्गतको थेत्तोर नाच नियमित प्रदर्शन हुन सकेको थिएन । थेत्तोरलाई धानको बाला नाचका रुपमा चिन्ने गरिन्छ ।

थेत्तोर नाचमा परदेशी घर फर्कने क्रममा बाटोमा हुने घटनाक्रमलाई प्रस्तुत गरिने कलाकार विनोद श्रेष्ठले बताए । “परापूर्वकालमा रोजगारीका लागि छिमकी मुलुक भारत गएकाहरु घर फर्कने क्रममा बाटोमा बास बस्दा हुने नाचगानका विषयवस्तुलाई ठट्यौली रुपमा गीतमा प्रस्तुत गरिन्छ”, उनले भने, “मौलिक गीतको लय र सुर तालमा लाहुरे, युवतीहरु र जोक्करले गर्ने अभिनय रोचक हुन्छ ।”

थेत्तोर नाचमा यसपालि बेनी सामुदायिक माविका विद्यार्थी कलाकार सहभागी भएका थिए । नाचका लागि वाद्यवादनसहित ३० जनाभन्दा बढी कलाकार आवश्यक पर्छ । बेनी वरपरका गाउँबस्तीमा धान र कोदो रोपाइँको काम सकेपछि स्थानीयहरु मनोरञ्जनका लागि बर्खेनाच हेर्न बेनी आउने यहाँको पुरानो चलन हो ।

बेनीमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि सुरु भएको बर्खेनाचको तीज पर्वका दिन समापन गरिएको छ । दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिएको हो ।

दुई सय वर्षअघि बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरु भएको विश्वास छ । घण्टाकर्ण चर्तुदर्शीदेखि तीजका दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ । यसवर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागागागिनी र थेत्तोर नाच देखाइएको ल्यामः पुःचका अध्यक्ष जेनेश श्रेष्ठले बताए । बर्खे नाचमा मृदृङ्गा र मादलको तालमा नृत्य गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिन्छ ।

लाखेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने चलन रहेको नेपाल भाषा मंःकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ७ : ४२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज