४ श्रावण २०८३, सोमबार | July 20, 2026

महिनावारी पवित्र कि पाप ?



खजुरा । “महिनावारी पाप हो”, “नारी जन्मनु नै अभिशाप हो”, “पतिको दीर्घायुका लागि व्रत गर्नु नारीको धर्म हो” — यस्ता भनाइहरू हामीले सुन्दै र सहँदै आएको लामो इतिहास छ। यी भनाइहरू हाम्रो सामाजिक चेतनामा यसरी गहिरिइ सकेका छन् कि कहिलेकाहीँ हामीले प्रश्न गर्नुपर्ने कुरा पनि मौन रूपमा आत्मसात गर्छौं। धर्म, परम्परा र संस्कारको नाममा अनुकरण भइरहेका यस्ता व्यवहार र विश्वासहरूको पुनर्मूल्याङ्कन आजको युगमा अत्यन्त आवश्यक छ — जहाँ विज्ञान, शिक्षा र विवेकले सोच्ने, बुझ्ने र निर्णय लिने स्वतन्त्रता प्रदान गरिसकेको छ।

हिन्दू परम्परामा ऋषिपञ्चमी एक विशेष धार्मिक दिवसका रूपमा चिनिन्छ, जहाँ महिलाहरूले सप्तऋषिहरूप्रति श्रद्धा प्रकट गर्दै व्रत बस्ने परम्परा छ। तर यो व्रत श्रद्धासँग मात्र सीमित छैन। जनविश्वास अनुसार महिनावारीका समयमा महिलाबाट अनजानेमा भएका ुपापुहरू पखाल्न यो व्रत अनिवार्यझैं मानिन्छ। अझै पनि धेरै महिलाहरू यो व्रतलाई आत्मग्लानिको चुपचाप बोझका रूपमा ग्रहण गर्छन्, र यो व्रत नगरे जीवनमा अशुद्धता वा दुर्भाग्य लाग्न सक्छ भन्ने डरले नियमित रूपमा कष्टकर उपवास गर्छन्।

कल्पना पौडेल ‘जिज्ञासु’

यद्यपि वैज्ञानिक दृष्टिले हेर्दा महिनावारी कुनै अशुद्धता होइन, न त पवित्रता गुमाउने अवस्था नै हो। यो त नारी शरीरको स्वाभाविक, जैविक प्रक्रिया हो — जसले प्रजनन प्रणालीलाई सक्रिय र स्वस्थ राख्छ। प्रत्येक महिनाको एक निश्चित अवधिमा युटेरसको भित्ताबाट असार भएका कोष रगतमार्फत बाहिर निस्कनु शरीरको स्वाभाविक शुद्धीकरण प्रक्रिया हो। यस्तो प्रक्रिया जसले जीवन सम्भव बनाउँछ, उसलाई ‘पाप’को श्रेणीमा राख्नु कति विडम्बनापूर्ण हो१

महिनावारीका समयमा महिलाको प्रतिरोध क्षमता सामान्य जस्तै रहन्छ। उनीहरू पढ्न, काम गर्न, पूजा गर्न वा सामाजिक समारोहमा सहभागी हुन कुनैपनि हिसाबले अपात्र हुँदैनन्। यसको निषेध न त वैज्ञानिक रूपमा प्रमाणित छ, न नै मानवीय दृष्टिकोणबाट न्यायोचित।

तर त्यसो भए यस्तो सोच — महिनावारी पाप हो, त्यसको प्रायश्चित गर्नुपर्छ भन्ने — कहाँबाट आयोरु यसको मूल जरो समाजको ऐतिहासिक संरचना र पुरुषप्रधान सोचमा लुकेको छ। प्राचीन समयमा सरसफाइ र स्वास्थ्यको न्यून सुविधा हुँदा महिनावारी भएका महिलालाई केही दिन विश्राम गराउने अभ्यास थियो, जुन सायद सहानुभूतिपूर्ण थियो। तर समयसँगै, त्यही अभ्यास धर्म, पवित्रता र पापको खोल ओढ्दै नारीलाई अलगाव, तिरस्कार र आत्मग्लानिको पात्र बनायो।

समाजले महिनावारी भएका महिलालाई ‘अशुद्ध’ भन्दै छुट्टै राख्ने, पूजामा भाग नदिनेदेखि लिएर भान्सासम्म नछुन दिने चलन विकसित गर्‍यो — जसले महिलालाई आफ्नो जैविक अस्तित्वप्रति लाज र अपराधबोध महसुस गराउन थाल्यो। अनि त्यसैको निरन्तरताका रूपमा ऋषिपञ्चमीजस्ता व्रतहरू महिलाको जीवनमा सामाजिक र मानसिक रूपमा अनिवार्यजस्तै बनाइए।

हाम्रा मिथकीय कथाहरूमा पनि महिलालाई धर्मको रक्षाका लागि आफ्ना इच्छा, भावना र शरीरको पनि त्याग गर्नुपरेका प्रसंगहरू भेटिन्छन्। सत्यवती, सावित्री, अनुसूयाजस्ता पात्रहरूलाई धर्ममा समर्पित, चुपचाप सहन तयार पात्रको रूपमा चित्रण गरिएको छ। ती कथाहरूले महिला अस्तित्वलाई ‘त्याग’ र ‘पवित्रता’को मापदण्डमा बाँधेका छन्।

तर अब समय फेरिएको छ। आजको महिला शिक्षित छिन्, विवेकी छिन्, आफैं निर्णय गर्न सक्षम छिन्। उनी अब केवल सेवा गर्ने पात्र होइन — संस्कारसँग संवाद गर्न सक्ने, तर्क गर्न सक्ने र आवश्यक परे प्रतिरोध गर्न सक्ने चेतनशील व्यक्ति हुन्।

संस्कार सधैँ गलत हुँदैनन्। तर जब कुनै संस्कारले नारी अस्तित्वमाथि अपमान, सास्ती वा मानसिक हिंसा थोपर्छ, त्यो संस्कार नभएर शोषणको रूप लिन्छ। संस्कार भनेको समयसँगै जाँचिनसक्ने, परिमार्जन गर्न सकिने र विवेकसाथ अपनाउन सकिने अभ्यास हो। आजको युगमा हामीले परम्परा र आस्थालाई विवेकको आँखाबाट हेर्न सक्नुपर्छ — नत्र त्यही परम्परा दासताको औजार बन्छ।

ऋषिपञ्चमी पनि पुनःपरिभाषित हुन आवश्यक छ। यदि कोही महिला श्रद्धापूर्वक, आफ्नो स्वतन्त्र निर्णयअनुसार व्रत गर्छिन् भने त्यो सम्माननीय छ। तर यदि त्यो व्रत डर, सामाजिक दबाब, वा अपराधबोधका कारण गरिएको हो भने त्यो धर्म होइन — मानसिक दासता हो।

ऋषिपञ्चमी आत्मग्लानिको माध्यम होइन। यो स्वास्थ्यप्रतिको सचेतना, आफ्नै शरीरप्रतिको सम्मान, र आत्मचेतनासँगको संवाद बन्नुपर्छ। अब समय आएको छ — जहाँ महिलाले आफ्नो शरीरप्रतिको निर्णय आफू लिन सकून्, जहाँ पवित्रता केवल धार्मिक नियमअनुसार होइन, व्यक्तिगत स्वाभिमान र विवेकअनुसार तय होस्।

म अहिले त्यो नारी हुँ — जसले मौनता होइन, चेतनाको आवाज चुनेकी छु। जसले संस्कारसँग सहमति मात्र होइन, आवश्यक परे प्रतिवाद गर्न पनि जानेकी छु। र जसले अब आफ्नै अस्तित्वको रक्षा आफैँ गर्न सक्ने आँट गरेकी छु।

संस्कार, चेतना र म — अब सहअस्तित्वको खोजीमा छु। तर त्यो सहअस्तित्व केवल श्रद्धाले होइन — विवेक, स्वाभिमान र आत्मनिर्णयले भरिएको हुनुपर्छ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ३ : ५६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री