काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले आसाम प्रदेश क्रिकेट संघमाथि लगातार दोस्रो जित निकालेको छ । शनिबार राति सम्पन्न तेस्रो टी-२० अभ्यास खेलमा सन्दीप जोराको शानदार अर्धशतकको सहायतामा नेपालले आसामलाई ९ रनले पराजित गर्यो ।
यस जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । सिरिजको पहिलो खेलमा डकवर्थ-लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने ९६ रनले विजयी भएको थियो ।
शनिबार टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९६ रन बनायो । नेपालका लागि सन्दीप जोराले ४८ बलमा ७ चौका र २ छक्कासहित ७४ रन बनाए । आदिल आलामले ३५, तिर्थराज दासले ३३ तथा कप्तान अनिलकुमार साहले ३१ रन जोडे । आसामका आकाश सेनगुप्ताले २ विकेट लिए ।
१९७ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमै ७ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । आसामका निहार डेकाले ४० रन, कप्तान सुमित घाडीगाउँकरले ३६ रन र अब्दुल अजिजले ३१ रन जोडे ।
नेपालका कमलसिंह ऐरी, आकाश चन्द, विवेककुमार यादव र बसीर अहमदले समान २–२ विकेट लिँदा आदिल आलामले १ विकेट हात पारे ।
सिरिजको चौथो खेल आइतबार साँझ र अन्तिम तथा निर्णायक खेल सोमबार हुने छ ।


















प्रतिक्रिया