नेपालगन्ज । पत्रकार महसंघ बाँके शाखा अन्तर्गत साबिक २४२ सदस्यहरु मध्य १८७ जनाले आफ्नो सदस्यता नविकरण गरेका छन् । महासंघको पटक पटक जारी सूचनापछि भाद्र १५ गते दिइएको अन्तिम समयसीमा सम्ममा १८७ जनाले सदस्यता नविकरण गरेको महासंघ बाँके शाखाले जानकारी दिएको छ ।
पत्रकारिताका बिभिन्न आधार र प्रमाण सहित सदस्यता नविकरणको आवेदन माग गरेपछि सदस्यता नविकरण गर्नेको संख्या घटेको अनुमान गरिएको छ । विगतमा गैरपत्रकारहरुले समेत सदस्यता प्राप्त गरेको भन्दै आलोचना हुँदै आएको थियो । महासंघले हरेक साधारणसभामा सुद्धिकरणको नारा तय गरेपनि दलगत संगठनको दवामा सुद्धिकरण नारामा सिमित हुँदै आएको छ ।
नविकरण नगरेका सदस्यहरुको हकमा केन्द्रको निर्णय बमोजिम हुने महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले बताए । ‘हामीले नविकरणका लागि आएको आवेदन र बिधान अनुसारको सदस्यता शुल्क प्रदेश र केन्द्रमा पठाउँछौं,’ उनले भने, ‘त्यसपछि केन्द्रले गर्ने निर्णय र निर्देशन बमोजिम जे हुन्छ त्यही हुन्छ ।’
महासंघको बाँके शाखाले नविकरण गरेका १८७ सदस्यहरुको नामावली आज सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।



















प्रतिक्रिया