९ चैत्र २०८२, सोमबार | March 23, 2026

सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्न प्रहरी महानिरीक्षक खापुङको निर्देशन



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा उनले सङ्गठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व बोध गरी खटिन निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अङ्गका रूपमा प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायत कार्यमा राज्यको पहिलो प्रतिनिधिको रूपमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए ।

उनले आमनागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक खापुङले राष्ट्र र नागरिक सेवामा आफ्नो निजी स्वार्थ तथा व्यक्तिगत लाभभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठनले निर्दिष्ट गरेको अनुशासन पालना र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सचेत गराए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, शिक्षालयका प्राचार्यलगायत उपस्थिति थिए ।

यही भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी सङ्गठनको ३२ औँ महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो । आज गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले महानिरीक्षक खापुङलाई दज्र्यानी चिन्हबाट सुशोभित गरेका थिए ।

तेह्रथुमको मेन्छयायेम गाउँपालिका–६ मा पिता ललितबहादुर र माता गङ्गामायाको परिवारमा २०२७ मङ्सिर २३ गते जन्मिएका प्रहरी महानिरीक्षक खापुङले २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका थिए । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको पहिचान बनाएका उनी २०६४ मा प्रहरी नायब उपरीक्षक, २०७३ मा प्रहरी उपरीक्षक, २०७७ मा प्रहरी वरिष्ठ उपरीक्षक, २०८० मा प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लैङ्गिक अध्ययनमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक खापुङले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, प्रोग्राम अन क्यापासिटी बिल्डिङ फर क्राइम प्रिभेन्सन् स्ट्राटेजी डेभलपमेन्ट, एसिया रिजन ल इन्फोर्समेन्ट मेनेजमेन्ट प्रोग्राम, अपराध अनुसन्धानलगायत विभिन्न १४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । उनी प्रवल जनसेवा श्री र गद्दी आरोहण रजत पदकलगायत विभूषणबाट विभूषित हुन् ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ४ : ०१ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी