बुटवल । हरियाली यातायात प्रालिको सातौँ वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन रिक्सा व्यवसायी संघ तथा रिक्साधनी चालक भलाई कोषका पूर्व अध्यक्ष इन्द्रध्वज मल्लले गरेका थिए ।
उद्घाटन कार्यक्रममा मल्लले व्यवसायी तथा चालकहरूको हकहित संरक्षणमा संस्थाले अझ अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले दुर्घटनाको जोखिम न्यूनीकरण र समस्याको समाधानमा संस्थाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सबै व्यवसायीलाई संस्थामा आबद्ध भई नियम-अनुशासन पालना गर्दै व्यवसाय अघि बढाउन आग्रह गरे ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना सार्वजनिक गरे । उनले बुटवल उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापनमा समन्वय नगरी एकलौटी ढंगले अघि बढ्दा समस्या झन् बढेको बताए । हाल दर्ता गरिएको संख्याभन्दा दोब्बर ई-रिक्सा सञ्चालनमा रहेकाले दुर्घटनाको जोखिम बढेको उनको भनाइ थियो । उनले लामो समयदेखि दर्ता भई नियमअनुसार व्यवसाय गरिरहेका सञ्चालकलाई समस्यामा पारिएको उल्लेख गरे ।
अध्यक्ष तिवारीका अनुसार, प्रालिले यात्रुका छुटेका लाखौँ रुपैयाँबराबरका बहुमूल्य सामान तथा नगद सम्बन्धित व्यक्तिलाई खोजेर बुझाउँदै आएको छ ।
कोषाध्यक्ष प्रज्वल शेखर बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई साधारणसभाले सर्वसम्मतिले पारित गर्यो । यस्तै सञ्चालक गोपालप्रसाद रिजालले सरकारले अनिवार्य गरेको इम्बोस्ड नम्बर प्लेटका विषयमा ध्यानाकर्षण गराउँदै, हाल बुटवलमा नारायणी र राप्ती अञ्चलका थुप्रै ई-रिक्सा सञ्चालन भइरहेकोले लुम्बिनी अञ्चलमार्फत व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा सञ्चालक देवानन्द चापागाईं, सल्लाहकार कृष्णबहादुर कार्कीलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । सो अवसरमा पूर्व व्यवस्थापक कमल पोखरेललाई सम्मानसहित विदाई गरियो ।
कार्यक्रम सदस्य नेत्रप्रसाद गैरेको स्वागत र कोषाध्यक्ष प्रज्वल शेखर बज्राचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । हाल हरियाली यातायात प्रालिमा ३ सयभन्दा बढी व्यवसायी आबद्ध छन् ।


















प्रतिक्रिया