लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी परिषरको नियमित सरसफाई अभियानको सुरुवात गरेका छन् । उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित झाडु लगाएर सरसफाइ अभियानको शुभारम्भ गरेका हुन् ।
लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित उनले सबै कर्मचारी र सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरे ।
उनले शनिबार लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको इ(रिक्सा मार्फत अवलोकन गरे । लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि उपाध्यक्ष डा. लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गरेको समेत जनाए ।
गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ताबाट सकारात्मक नतिजासहित सम्पन्न भएपछि उपाध्यक्ष डा. लामा कार्यालयको नियमित कामको फर्किएका हुन् ।
लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताए । उनले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया