नेपालगन्ज । नेपालगन्जमा आयोजित हजुरआमाहरु बीचको दौड प्रतियोगितामा धनसरा बुढा प्रथम भएकी छिन् । दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक हब मिडिया प्रालिको १५ औं ‘सम्यक यात्रा’ को अवसरमा आयोजनामा सम्पन्न ‘दौडिन्छिन् हजुरआमा’ अन्तर्गत आज विहान भएको हजुरआमाहरु बीचको दौड प्रतियोगितामा बुढा प्रथम भएकी हुन् । उनले वीपी चोकदेखि धम्बोझी चोकसम्मको करीब एक किलोमिटर दुरी ५ मिनेट ४७ सेकेण्डमा पार गरेकी थिइन् ।
प्रतियोगितामा नन्दमाया वली द्वितीय र रेवती सिंह तृतीय भइन् । वलीले ६ मिनेट ५ सेकण्ड तथा सिंहले ६ मिनेट १२ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । नाट्टा बाँके च्याप्टले सहआयोजना गरेको प्रतियोगितामा ५० बर्ष पार गरेका हजुरआमाहरुबीच प्रतिष्पर्धा गराइएको थियो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेले गरेका थिए । त्यस अवसरमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजिव विक्रम शाह, लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, मिना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतको उपस्थिती रहेको थियो ।
महिला सशक्तिकरण तथा स्वास्थ्यप्रतिको संवेदनशिलता र सक्रिय जीवनका लागि सचेतना जगाउने उद्देश्यले दौड आयोजना गरिएको सम्यक हब मिडिया प्रालिका प्रबन्ध निर्देशक झलक गैरेले बताए । आजै ‘भन्छिन् हजुरआमा’ शिर्षकमा हजुरआमा र नाती/नातिनी पुस्ताबीच अन्तरपुस्ता संवाद पनि सम्पन्न गरिएको गैरेले जानकारी दिए ।


















प्रतिक्रिया