बुटवल । रुपन्देहीमा जारी कर्फ्यु बिहीबार बिहान दुई घण्टाका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सूचना जारी गर्दै बिहान ७ बजेदेखि ९ बजेसम्म कर्फ्यु हटाइएको जानकारी दिएका हुन् ।
तर, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु पुनः लागू हुने सूचनामा उल्लेख गरिएको छ । सम्भावित प्रदर्शन, जुलुस र झडपलाई रोकथाम गर्ने उद्देश्यले स्थानीय प्रशासनले यस अवधिमा कर्फ्यु आदेश निरन्तरता दिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशअनुसार, कर्फ्यु अवधिभर कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
आदेशको उल्लङ्घन गर्ने जोकोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ भने प्रशासनले आम नागरिकलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ ।



















प्रतिक्रिया