काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विपतपूर्ण परिस्थितिमा संवैधानिक दायरामा रहेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
बिहीबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति–सुरक्षाको स्थिति कायम गर्न आवश्यक विचार–विमर्श र प्रयास भइरहेको बताए। आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न ढिलाइ गर्नु ठिक नहुने भन्दै उनले समस्याको शीघ्र समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रपतिले मुलुकमा सहमति कायम गरेर शान्ति र स्थिरता सुनिश्चित गर्न सबै राजनीतिक दल र पक्षलाई सहयोग गर्न अपिल गरेका छन्। “संविधानको दायरामा रही समस्या समाधानतर्फ अघि बढ्नुपर्छ,” वक्तव्यमा उल्लेख छ।
साथै, उनले देशमा देखिएको असन्तोष र अशान्ति अन्त्य गर्न संवाद, सहमति र आपसी समझदारीमार्फत मार्ग निकाल्न सबैलाई आग्रह गरेका छन्।



















प्रतिक्रिया