काठमाडौं। नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पाँच महिनाभित्र विज्ञान तथा शिक्षा क्षेत्रमा गर्न सकिने काम र व्यावहारिक ‘आइडिया’बारे सुझाव दिन आम सर्वसाधारणलाई आग्रह गरेका छन्।
मन्त्रीमा नियुक्त भएपछि फेसबुकमार्फत् पहिलो प्रतिक्रिया जनाउँदै पुनले आफूलाई औपचारिक बधाई, खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्। “मलाई कसैले पनि मन्त्री नभन्नु होला। यदि भन्नै मन छ भने ‘कवाडी विज्ञान मन्त्री’ भन्नु होला,” पुनले लेखेका छन्।
उनले थपे, “लौ बधाई छ भनेर फोन नगर्नु होला, बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम र सुझाव छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला।”
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनलाई शिक्षा मन्त्रीमा नियुक्त गरेकी हुन्। उनीसहित पाँच मन्त्रीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।


















प्रतिक्रिया