चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलानजिक पुनः सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरो पन्छाउने कार्य भइरहेको भरतपुर सडक डिभिजनले जनाएको छ ।
‘तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ,’ सडक डिभिजनले जानकारी दिँदै भन्यो, ‘तर सवारी चालकहरूले अव्यवस्थित तरिकाले गाडी रोकेकाले थप उपकरण र इन्धन लैजान समस्या परेको छ ।’
यसैबीच मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलानजिक ठूलो पहिरो खस्दा सडक दुवैतर्फ बन्द भएको छ । मंगलबार बिहान खसेको ठूलो पहिरो अझै पनि निरन्तर खसिरहेको र त्यसले पन्छाउने कार्यमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले सम्भव भएसम्म वैकल्पिक सडकमार्ग प्रयोग गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।



















प्रतिक्रिया