८ माघ २०८२, बिहिबार | January 22, 2026

ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान अवस्थामा हमास लडाकूहरू निकै कमजोर भएको र अब यस प्रस्तावलाई स्वीकार गर्नुबाहेक विकल्प नरहेको बताए। प्रधानमन्त्री नेतान्याहुले समेत योजना अस्वीकार भएमा इजरायल आफैँले अन्तिम कार्यवाही गर्ने चेतावनी दिएका छन् ।

कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत यो योजना हमासलाई प्रस्तुत गरिएको छ । हमास वार्ताकारहरूले यसलाई ‘राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जानकारी दिइएको छ ।

कब्जा गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सले संयुक्त वक्तव्य जारी गर्दै ट्रम्पको पहलको प्रशंसा गरेका छन् ।

तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा प्रष्ट उल्लेख नगरिएको भन्दै आलोचना पनि गरिएको छ ।

हमासको निःशस्त्रीकरणको सर्त विगतका वार्तामा अस्वीकार्य मानिँदै आएको थियो । यसपटक योजना अनुसार ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समेत समावेश गरी अस्थायी प्रशासकीय समिति गठन गरिनेछ ।

योजनाले इजरायलले स्वीकृति दिएलगत्तै ७२ घण्टाभित्र हमासले सबै बन्धकहरू मुक्त गर्नुपर्ने प्रावधान राखेको छ । यससँगै इजरायलले सयौँ प्यालेस्टिनीहरूलाई रिहा गर्ने उल्लेख गरिएको छ । यसमा आजीवन कारावास भोगिरहेका कैदी पनि समावेश हुनेछन् ।

राष्ट्रपति ट्रम्पले योजना सफल नहुँदा हमासविरुद्ध थप इजरायली कारबाहीमा आफ्नो ‘पूर्ण समर्थन’ हुने आश्वासन दिए । उनले हालको हमास नेतृत्व पहिलेको तुलनामा कमजोर भएको र भिन्न परिस्थितिमा वार्ता भइरहेको बताए ।

यसबीच प्रधानमन्त्री नेतान्याहुले कतारसँग सम्बन्ध सुधार्ने प्रयासस्वरूप हालै कतारमा भएको इजरायली आक्रमणप्रति खेद व्यक्त गरे । उक्त आक्रमणले कतारी सैनिकको ज्यान लिएको र वार्तामा अवरोध ल्याएको बताइएको थियो । ह्वाइट हाउसले नेतान्याहुको माफीलाई कतारी प्रधानमन्त्रीले स्वीकार गरेको जानकारी दिएको छ ।

यद्यपि इजरायली अति–दक्षिणपन्थी नेताहरूले भने कतारमा भएको सो सैन्य कारबाहीलाई ‘न्यायपूर्ण र नैतिक’ ठहर गर्दै समर्थन गरेका छन् ।

विशेष गरी कट्टर गठबन्धन साझेदारहरूले हमासको पूर्ण उन्मूलनको माग गरिरहेका बेला प्रस्तावबारे नेतान्याहु सरकारभित्रै दबाब कायम छ ।

योजनामा बन्धक मुक्त भएपछि शान्तिपूर्ण सहअस्तित्वमा प्रतिबद्ध हमास सदस्यलाई माफी दिइने र गाजा छोड्न चाहनेलाई सुरक्षित मार्ग उपलब्ध गराइने प्रावधान पनि राखिएको छ ।

राष्ट्रपति ट्रम्प हाल द्वन्द्वप्रति अझ निराश देखिनु भएको छ । उनले इरानसँगको छोटो युद्धमा इजरायललाई समर्थन गर्न अमेरिकी बमवर्षक प्रयोग गर्न आदेश दिएका थिए भने नेतान्याहुविरुद्धको भ्रष्टाचार मुद्दालाई ‘विच हन्ट’ बताउँदै सहयोग गरेका थिए । तर हालै कतारमा हमास अधिकारीमाथिको असफल आक्रमणले उनीलाई असन्तुष्ट बनाएको छ ।

इजरायलले ४८ जना बन्धक रहेको बताएको छ, जसमा २० जना जीवित रहेको विश्वास गरिएको छ । हमासले विगतमा गाजामा शासनबाट पछि हट्न सहमति जनाए पनि निःशस्त्रीकरण अस्वीकार गर्दै आएको थियो ।

गत हप्ता न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको साइडलाइनमा राष्ट्रपति ट्रम्पले विभिन्न अरब तथा इस्लामिक नेतासँग छलफल गरेका थिए । उनले यो सम्झौतालाई मध्यपूर्वमा स्थायी शान्ति र समृद्धिको नयाँ युगको सुरुआत बनाउन सक्ने अवसरका रूपमा चित्रण गरे ।

“म प्यालेस्टिनीहरूलाई आफ्नो भाग्यको जिम्मेवारी लिन चुनौती दिन्छु । हामीले अब उनीहरूलाई त्यो अवसर दिइरहेका छौँ”, राष्ट्रपति ट्रम्पले भने ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : ५२ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको