१० पुस २०८२, बिहिबार | December 25, 2025

मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न



भादगाउँ । बडादशैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ ।

तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा निकालिएको हो ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरूले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गर्नुका साथै स्थानीय क्वालखु द्यः (बालकुमारी देवी)को परिसरमा भुइँफर्सीअर्थात् कुभिण्डो मार हानेपछि जात्रा सम्पन्न भएको थियो ।

तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल ९तल्लो टोल०को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थिमि लाय्कुका पमा नायो (प्रधान नाइके) श्यामकाजी श्रेष्ठले बताए ।

जात्राको क्रममा बडादशैँको महानवमीमा तलेजु भवानीलाई बलि चढाएको खःम्ये (राँगा)को टाउको, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइएको श्रेष्ठले जानकारी दिए ।

विशेषगरी यो जात्रामा नायो पमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ । जात्रामा खःम्येको टाउकोको साथमा हिकोँचा (रगत भरिएको घ्याम्पा) समेत नगर परिक्रमा गराई प्रदर्शन गरिएको थियो । जात्रा सम्पन्न भएपछि खड्गी समुदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पूजा गरेर भेँडा बलि दिएर भोज खाने परम्परा रहेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

जात्राका अवसरमा बालकुमारीमा भुइँफर्सी (कुभिण्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको भुइँफर्सी प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । सोही विश्वासका कारण मार हानेको भुइँफर्सी लिन स्थानीयको तछाडमछाड हुने गर्दछ । जात्राको अन्तिममा भुइँफर्सी मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु जात्रा’ पनि भनिन्छ ।

मल्लकालीन समयमा तत्कालीन थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) थियो । थिमिको धार्मिक तथा सांस्कृतिक जात्रा पर्वमा लाय्कु प्रमुखको उपस्थिति अनिवार्य मानिन्छ । लाय्कु प्रमुखलाई नायो पमाः र अन्य सहायकलाई पमाः भनिन्छ । लाय्कुको नायो पमाः नेपाल सरकारको गुठी संस्थानले नियुक्त गर्ने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । हाल थिमि लायकुका नायो पमाः श्यामकाजी श्रेष्ठ हुन् ।

थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आबद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आबद्धता दरबारिया प्रशासकको रूपमा र कुटुरप्याथः समुदाय सैनिकको रूपमा दरबारमा थिए भने खड्गी समुदायले खाँसम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रूपमा काम गर्थे ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ५२ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका