खजुरा । बाँकेको नेपालगन्ज र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने मुख्य सडकको खजुरा खण्डमा रहेको झण्डै ६० वर्ष पुरानो पेडारी नालामा नयाँ पुल निर्माणको काम सुरु भएको छ । हुलाकी सडक निर्देशनालयले लगाएको ठेकेदार कम्पनीले आजबाट पेडारी नालामा नयाँ पुल निर्माणको काम थालेको छ ।
जिर्ण पुलका कारण कुनैपनि बेला दुर्घटना हुन सक्ने त्रासमा रहेका सो सडकमा यात्रा गर्ने यात्रुहरु पुल निर्माणको काम सुरुभएपछि खुसी भएका छन् । ज्यान जोखिममा राखेर हिँड्नुपर्ने अवस्थाको नालामा पुल बन्ने खबरले खुसी लागेको खजुराका व्यवसायी रोसन सापकोटाले बताए ।
निमाण कार्य थालेको पुलको लम्बाई ३४.४ मिटर हुनेछ । ४ लेनको पुलमा ११-११ मिटरका २ वटा पुल गाँसिने छ । पुलको बीचभागमा झण्डै २ मिटरको डिभाइडर रहने छ । हाल नालामा रहेको पुल भन्दा झण्डै २.५ मिटर अग्लो पुल बन्ने छ । पुलको कम्तीमा १५ मिटर उत्तर तर्फ तटबन्ध गरि पानीको वहावलाई पुलमा ल्याइने हुलाकी सडक निर्देशनालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।
यात्रालाई सहज बनाउन डाइभर्सन बनाउने कार्यबाट काम थालिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले बताए । पुल निर्माणले वर्षौदेखि यो सडकको प्रयोगकर्ताले भोग्दै आएको पीडाको अन्त्य हुने उनले बताए ।
कुनै बाधा अवरोध नआएमा ४ देखि ६ महिनामा पुल निर्माण सम्पन्न गर्न सकिने ठेकेदार कम्पनी नारायणम् निर्माण सेवाका संचालक जयबहादुर खत्रीले बताए ।


















प्रतिक्रिया