काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको आजको दिनलाई इतिहासमा कहिल्यै नबिर्सिने दिनको रूपमा वर्णन गरेका छन्।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले १० वटा घटकबीच भएको एकतालाई अभूतपूर्व र असाधारण भएको बताए। प्रचण्डका अनुसार यति ठूलो एकता नेपालको राजनीतिक इतिहासमा पहिलोपटक भएको हो।
“आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने हुनेछ। दुई–तीन घटकबीच एकता हुने त भयो होला, तर एकैचोटि १० वटा घटकबीचको यस्तो ऐतिहासिक एकता यसअघि भएको छैन,” उनले भने।
उनले नवगठित पार्टीलाई निकट भविष्यमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विश्वास पनि व्यक्त गरे। “अब यो पार्टीलाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन,” प्रचण्डले दृढ स्वरमा भने।
त्यसक्रममा उनले जेनजी आन्दोलनको भूमिकालाई पनि विशेष रूपमा उल्लेख गर्दै उक्त आन्दोलनका युवाहरूले पार्टीलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको बताए। “तपाईंहरूकै आन्दोलनले हाम्रो कमजोरी उजागर गरिदियो, हामी कहाँ चुकेका थियौं भन्ने कुरा देखायो,” प्रचण्डले भने।
उनले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठेका आवाजप्रति धन्यवाद ज्ञापन गर्दै सहिदहरूलाई सम्मान प्रकट गरे।


















प्रतिक्रिया