काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) नेतृत्वको नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’मा विलय भएपछि केही नेताहरू पुनः नेकपा (एमाले)मा फर्किने भएका छन् ।
समाजवादी पार्टी छोडेकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायत ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू आगामी सोमबार एमालेमा पुनः प्रवेश गर्ने तयारीमा छन् ।
त्यसका लागि झाँक्री र श्रेष्ठले बिहीबार भक्तपुरको गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटघाट तथा छलफल गरेका छन् ।
ओलीनिकट नेता महेश बस्नेतका अनुसार उनीहरू सोमबार दिउँसो ३ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुने ‘घर फर्कने अभियान’ कार्यक्रममा औपचारिक रूपमा एमालेमा प्रवेश गर्ने छन् ।
रामकुमारी र किसानले बुधबार मात्रै काठमाडौंको होटल बसेरामा आयोजित कार्यक्रममा एमालेमा फर्किने आफ्नो निर्णय सार्वजनिक गरेका थिए । उनीहरूसँग केही पूर्वसांसदहरू पनि एमालेमा सहभागी हुने तयारीमा रहेका छन् ।


















प्रतिक्रिया