१ आश्विन २०८३, बिहिबार | September 17, 2026

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’



दमौली । तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने केन्द्र बनाउन तनहुँ सङ्ग्रहालय स्थापना गरिएको छ । नेपाल क्षेत्री समाज तनहुँको सक्रियतामा व्यास नगरपालिका-१ करङकाठस्थित समाजको भवनमा तनहुँ सङ्ग्रहालय स्थापना गरिएको हो ।

सङ्ग्रहालयमा तनहुँमा रहेका जातजातिका पहिरन, उनीहरूले प्रयोग गर्ने सामग्री राखिने सङ्ग्रहालय संयोजक देवीबहादुर बस्नेतले जानकारी दिए । तनहुँमा प्रमुख १६ जाति रहेकाले सङ्ग्रहालयमा ती सबै जातजातिका सामग्री राखिने बस्नेतले बताए ।

उनले भने, ‘यहाँ रहेका ब्राम्हण, क्षेत्री, दरै, कुमाल, बोटे, गुरुङ, राई, दुरा, दमै, कामी, सार्की लगायतले प्रयोग गर्ने पहिरन, उनीहरूले प्रयोग गर्ने सामग्रीलगायत सबै सामग्री सङ्ग्रहालयमा राख्छाैँ । यो सङ्ग्रहालय नयाँ पुस्ताका लागि पाठशाला बन्नेछ । सङ्ग्रहालय विभिन्न जातजातिका धर्म, संस्कृति, रीतिरिवाज अध्ययनको बृहत् केन्द्र बन्ने विश्वास गरेका छौँ ।’

सङ्ग्रहालयले विभिन्न जातजातिका रहनसहन, वेषभूषासँगै सम्पूर्ण दिनचर्याबारे जान्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । बस्नेतका अनुसार जिल्लामा बसोबास गर्ने सबै जातजातिका समुदायमा पुगेर उनीहरूले प्रयोग गर्ने वस्तुहरु संकलन गरी सङ्ग्रहालयमा राखिनेछ ।

उनले भने, ‘सम्बन्धित जातजातिका समुदायमा पुगेर त्यस्ता सामग्री संकलन गर्छौं, सहयोगका लागि अपिल पनि गरेका छौँ । नपाइने सामग्री भने खरिद गरिनेछ ।’

सङ्ग्रहालय संस्कृति संरक्षणसँगै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पनि सहयोगी बस्नेतको विश्वास छ । उनका अनुसार सङ्ग्रहालयमा जिल्लाका ऐतिहासिक, पर्यटकीय गन्तव्यस्थलका बारेमा जानकारी दिने सामग्रीसमेत राखिएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख बजेट सहयोग गरेको थियो । यस्तै नेपाल क्षेत्री समाज तनहुँले गत तिहारमा देउसीभैलो खेलेर रु चार लाख संकलन गरेको छ । सङ्ग्रहालयमा राष्ट्रिय विभूतिका शालिकसमेत राखिने बस्नेतले बताए।

उनले भने, ‘देशका लागि विशेष योगदान दिने व्यक्तिहरुको पनि शालिक बनाउँछौँ ।’

सङ्ग्रहालय स्थापनाका लागि बजेट आवश्यक पर्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने बस्नेतले बताए ।

सङ्ग्रहालयका सहसंयोजक तिलक चौहानले स्थानीय सरकारले सङ्ग्रहालयमा ध्यान नदिएकाले क्षेत्री समाजको परिकल्पनामा सङ्ग्रहालय बनाउन लागिएको बताए।

उनले भने, ‘यो सङ्ग्रहालय तनहुँको मात्र नभई देशैभरिको सङ्ग्रहालयको केन्द्र बन्ने विश्वास गरेका छौँ । सङ्ग्रहालय स्थापना भएको एक वर्ष पूरा भएको छ, तर यहाँ राखिने सामग्री संकलनको कामलाई अब तीव्रता दिन्छौँ ।’

क्षेत्री समाज नेपाल तनहुँका सदस्य एवं सङ्ग्रहालयका सचिव रामचन्द्र अधिकारीले सङ्ग्रहालय स्थापनाका लागि सहयोग गर्न सबै जातजातिलाई आग्रह गरे । उनले भने, ‘प्रत्येक टोल, गाउँ, वडासम्म पुगेर सामग्री संकलनको अभियानमा जुट्दैछौँ ।’

नेपाल क्षेत्री समाज तनहुँका सचिव हरि कार्कीले समाजको सक्रियतामा सङ्ग्रहालय निर्माण गरिएपनि यसलाई सबै जातजातिको पहिचान झल्किने केन्द्र बनाइने उल्लेख गरे।

उनले भने, ‘सङ्ग्रहालयमा ऐतिहासिक, पुरातात्विक वस्तुको संरक्षण त हुन्छ नै सङ्ग्रहालय विद्यार्थीका लागि शैक्षिक अध्ययनको केन्द्र बन्नेछ ।’

सङ्ग्रहालयसँगै यहाँ पुस्तकालयसमेत बनाइएको छ । पुस्तकालयमा विभिन्न लेखकले लेखेको पुस्तक राखिएको छ । ती पुस्तकले तनहुँका ऐतिहासिक, सांस्कृतिकस्थलका बारेमा अध्ययन गर्न सकिनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १ : ४५ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको