काठमाडौं । दुई दिनका लागि स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ः३० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
पूर्वमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताब आलमको निधनप्रति शोक व्यक्त गर्दै आइतबार र सोमबारका लागि बैठक स्थगित गरिएको थियो ।
असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे निरन्तर छलफल भइरहेकाे छ । करिब एक महिनादेखि जारी बैठकमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने विषयमा विवाद चर्कँदो छ ।
संस्थापन पक्षले हाल महाधिवेशन गर्ने योजना नरहेको बताउँदै आएको छ भने असन्तुष्ट पक्षले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य गर्नुपर्ने अडान लिएको छ ।
बैठकमा दुबै पक्षले छुट्टाछुट्टै कार्यतालिका पेस गरिसकेका छन् र आजको बैठकले आगामी पार्टी दिशाबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया