जनकपुर । भारतको बिहार राज्यसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा क्षेत्रहरूमा मतदान सुरु भएको छ । यस चरणमा एक हजार ३०२ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपालसँग जोडिएका नाकाहरू अस्थायी रूपमा बन्द गरिएको छ । महोत्तरी, रौतहट, धनुषा, मोरङ र सुनसरीका सीमा नाकाहरू शनिबार बेलुकादेखि बन्द गरिएका हुन् । मतदान सकिएपछि नाका पुनः खोलिने सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जानकारी दिएका छन् ।
सीमानाका बन्द भएपछि नेपाल-भारत रेल सेवा पनि अस्थायी रूपमा स्थगित भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार बिजलपुर-कुर्था-जनकपुरधाम-जयनगर रेलसेवा आजका लागि बन्द गरिएको हो । कम्पनीले मतदान सम्पन्न भएपछि सेवा पुनः सुचारु गरिने जनाएको छ ।
दोस्रो चरणका १२२ निर्वाचन क्षेत्रमा तीन करोड ७० लाखभन्दा बढी मतदाता रहेका छन्, जसमा एक करोड ७४ लाख महिला मतदाता छन् । निर्वाचनका लागि ४५ हजार ३९९ मतदान केन्द्र निर्धारण गरिएको छ ।
यसअघि, नोभेम्बर ६ मा सम्पन्न पहिलो चरणमा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा मतदान भएको थियो, जसमा ६५.०८ प्रतिशत मतदाता सहभागिता देखिएको थियो ।
आज सम्पन्न हुने अन्तिम चरणको मतदानले नयाँ सरकार गठनसँगै बिहारको राजनीतिक भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया