बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहअभियुक्त छविलाल जोशीको आजका लागि तोकिएको पेसी स्थगित भएको छ । बुटवल इजलासमा चलिरहेको मुद्दाको सुनुवाइ स्थगित गर्न रविका कानुन व्यवसायीले निवेदन दिएको पुष्टि अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले गरे ।
आजकै दिन पाटन उच्च अदालतमा पनि रविको मुद्दा परेकाले बुटवलमा तोकिएको पेसी स्थगित गर्न निवेदन दिएको थियो । बिगोबमोजिम रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दायर गरिएको रिटमाथिको सुनुवाइ पनि स्थगित भएको हो ।
गत कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो । सोही मिसिल प्राप्त नहुँदा आजका लागि तोकिएको सुनुवाइ स्थगित गरिएको हो । यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि सुरु मिसिल झिकाउन आदेश भएको थियो ।
जिल्ला अदालतबाट प्राप्त प्रतिलिपिको आधारमा बिहीबार पेसी चढाइए पनि सर्वोच्चको सक्कल मिसिल नआएकाले सुनुवाइ अघि बढ्न नसकेको अदालतले स्पष्ट पारेको छ । सूचना अधिकारी कुँवरका अनुसार अदालतले मुद्दालाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि सारिरहेको छ ।
यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि लामिछाने र छविलाल जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा राख्न आदेश दिएको थियो । बिगोबमोजिम रकम बुझाएर थुनामुक्त गर्ने माग दुवैले राखे पनि व्यक्तिगत बिगो रकम यकिन नभएकाले दुवैको माग अस्वीकार हुँदै आएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीबाट १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो दाबी गरिएको छ । लामिछानेले त्यसको चार हिस्सा मध्ये एक हिस्सा बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरिसकेका छन् । जोशीले पनि उस्तै रकमजति जमानत पेस गरेका छन् ।
तर, उनीहरूलाई छुट दिने आधार स्पष्ट नभएकाले अदालतले दुवैलाई थुनामै राख्ने निर्णय दोहोर्याएको छ । हाल रवि लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा थुनामा रहेका छन् ।


















प्रतिक्रिया