२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन गर्न यातायात व्यवसायीको अटेरी



काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले सबै सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्न पहल गर्दै आएको बताए ।

“महानगरपालिकाको निर्णयपछि केही सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि बसपार्क भित्रबाटै सञ्चालन हुनुपर्छ,” उनले भने । नगर प्रहरी प्रमुख पाण्डेले महानगरले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भएको बताए । सबै क्षेत्रको साथ र सहयोगले निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

हाल काठमाडौँको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायतका चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् । महानगरपालिकाले गोँगबुस्थित विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरेर लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यातायात व्यवसायीको अटेरीका कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । “हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौँ तर यातायात व्यवसायी अटेर गर्दै आएका छन्”, उनले भने ।

महानगरपालिकाले सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएर आएसँगै महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले राजधानीभित्रको सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताए । “यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने ढङ्गले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ,” उनले भने । हाल गोँगबुस्थित नयाँबसपार्कबाट दैनिक लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि गुड्छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १ : १६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै