काठमाडौं । ओपनर डेविड मलान र अर्जुन साउदको उत्कृष्ट अर्धशतकले प्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंसिर १६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन जोड्यो ।
चितवनका ओपनर मलानले ५४ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ८० रन बनाउँदै इनिङ्सकै आधार तयार गरे । अर्जुन साउदले पनि ३९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५२ रन जोडे । दुबैले पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गर्दै चितवनलाई मजबुत सुरुआत दिलाए ।
कप्तान कुशल मल्लले १२ बलमा २८ रन थपे । सैफ जैब ७ रन र रवि बोपारा ३ रनमा आउट भए । जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक-एक विकेट लिए ।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरका लागि आजको खेल ‘करो वा मरो’ जस्तै रहेको छ । जितेर मात्रै प्लेअफको क्षीण सम्भावना बचाइराख्न चाहन्छ । चितवनले चारमध्ये दुई खेल जितिसकेको छ र आजको जितले प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्य लिएको छ ।


















प्रतिक्रिया