काठमाडौं । ओपनर माज सदाकत र अनिलकुमार साहको उत्कृष्ठ अर्धशतकको बलमा साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार चितवन राइनोजविरुद्ध जनकपुरले ६ विकेटले शानदार जित निकाल्दै प्लेअफको गणितीय सम्भावना जोगाएको हो ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमै चार विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर माज सदाकतले ३० बलमा ६३ रन बनाए भने अनिलकुमार साहले ६१ रन जोडे । यी दुवैको यो प्रतियोगितामा पहिलो अर्धशतक हो । सदाकत-अनिलले दोस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जिततर्फ उभ्याए ।
अर्का ओपनर आसिफ शेखले १८ रनको योगदान गरे । मध्यक्रमका जान निकोल लोफ्टी इटोनले ११ रन जोडे भने आदित्य महता (१८) र सञ्जय कृष्णमुर्थी (५) अविजित रहे । चितवनका सोहेल तान्विर र कमलसिंह ऐरीले एक-एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको चितवनले २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनायो । ओपनर मलानले ५४ बलमा ८० रनको उत्कृष्ट इनिङ खेले । अर्जुन साउदले पनि ५२ रन बनाउँदै मलानसँग १३.४ ओभरमा ११२ रनको शतकीय साझेदारी गरे । कप्तान कुशल मल्लले १२ बलमा २८ रन थपे ।
जनकपुरका माज सदाकत, कप्तान अनिलकुमार साह, रुपेश सिंह र जान निकोल लोफ्टी इटोनले समान एक-एक विकेट चट्काए ।
यस जितसँगै पाँच खेलपछि दुई अंक जोड्दै जनकपुरले प्लेअफको सम्भावना जोगाएको छ । जनकपुर अहिलेभन्दा अगाडिका चारै खेलमा पराजित भएको थियो । उता चितवनले भने पाँचमध्ये दुई खेलमात्र जित्दै तेस्रो हार बेहोरेको छ ।


















प्रतिक्रिया