काठमाडौं । ओपनर एडम रोसिंटनको विस्फोटक शतकसहित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएका छन् । मंगलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट मात्र गुमाउँदै २०१ रनको बलियो योगफल बनायो । यो स्कोर एनपीएलको दोस्रो संस्करणमा बनेको दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो ।
पोखराका ओपनर रोसिंटनले अविजित १०८ रनको धमाकेदार इनिङ खेले । ५८ बलको इन्निङमा उनले ११ चौका र सात छक्का प्रहार गर्दै लिगको यस संस्करणमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि कर्णालीका वार्क वाटले लुम्बिनीविरुद्ध ११४ रनको शतक बनाएका थिए । समग्र एनपीएलमा यो तेस्रो शतक हो । पहिलो संस्करणमा पोखराकै आन्द्रियस गौसले शतक हानेका थिए ।
रोसिंटनले ३४–१ को स्थितिबाट जासन रोयसँग दोस्रो विकेटका लागि १२७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरसम्म पु¥याए । पोखराबाट पहिलो खेल खेलिरहेका रोयले ३४ बलमा दुई चौका र तीन छक्कासहित ४६ रनको योगदान दिए । धनञ्जय लक्षण २३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।
कर्णालीको तर्फबाट नन्दन यादव र वार्क वाटले एक–एक विकेट लिए । सात बलर प्रयोग गरे पनि कर्णालीका अन्य बलरले प्रभाव पार्न सकेनन् ।
चार खेलमा एक जित मात्र हासिल गरेको पोखराका लागि आजको जित प्लेअफ यात्रामा महत्वपूर्ण हुनेछ । कर्णालीका लागि भने यो खेल पूर्णरूपमा ‘गर या मर’को स्थितिमा रहेको छ ।
मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म २० खेल सम्पन्न भइसकेका छन् । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफ पुग्ने पहिलो टोली भइसकेको छ ।


















प्रतिक्रिया