५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी



नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ सुरु भएको छ ।नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’ आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीन दिने कन्क्लेभबाट नेपाल र सीमावर्ती भारतीय शहरका पर्यटन व्यवसायी सम्मिलित कन्क्लेभले दुई देशमा पर्यटन बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

कन्क्लेभमा दुई देशका होटल, व्यापार, टुर ट्रेड एण्ड ट्राभल्सका प्रतिनिधिले नेपाल र भारतका बिच व्यापारी साझेदारी खोज्ने, सम्बन्ध बढाउने, व्यापारका ढोका खोल्ने, सीमामा आवागमनका क्रममा देखिएका समस्याहरु समाधानका उपाय खोज्ने विषयमा छलफल गरिरहेका छन् ।

कन्क्लेभको एक कार्यक्रमका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले नेपालगञ्ज धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच साझा प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले उत्तर प्रदेशलाई मात्रै लक्षित गरेर नेपालले पर्यटकीय गतिविधि गर्दा नै लुम्बिनीसँगै देशमै भारतीय पर्यटक भर्न सकिने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सीमावर्ती शहर नेपालगन्जमा अहिले पनि पश्चिम नेपालमा आउने पर्यटक यही नाकाबाट भित्रिने गरेको बताउँदै त्यसक्रममा नाकामा भन्सार, यातायात परमिट, भारु पैसा बोक्नेलगायतका समस्या रहेको बताए । उनल उल्लेखित समस्याहरुलाई सरोकार निकायसँग छलफल गरेर समाधान गर्ने बताए ।

सहभागीहरुले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, अयोध्यालाई जोडेर धार्मिक सर्किट बनाउनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा विस्तृत छलफल भएको थियो । प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख धवल शमशेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल सहभागी थिए ।

छलफलमा सीमा क्षेत्रमा देखिने अनावश्यक कडाई, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटकलाई निरुत्साहित गरिरहेका जस्ता समस्याको समाधानका उपायबारे बहस भएको थियो । वक्ताहरूले नेपालगञ्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन उदार र व्यवहारिक प्रोटोकल आवश्यक रहेकोमा जोड दिए ।

कन्क्लेभमा भारतीय टुर एण्ड ट्राभल सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतीय पक्षका सहभागीहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न सुझाव दिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । “यी विषयहरू दशकौँदेखि उठिरहेका छन्, अब ढिलाई गर्नु हुँदैन,” उनले भने, “सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । पर्यटकलाई दुःख दिने हाम्रो उद्देश्य होइन, सरोकारवालासँग बसेर समस्या समाधान गर्छौं ।”

नेपाल पर्यटन बोर्डका सिइओ जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपाल वेडिङ डेस्टिनेशन र वेलनेस र वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । उनले केही समय अघि पर्यटकले व्यहोर्दै आएको भुक्तानी प्रणालीको झन्झट पनि हाल सहज भइसकेको बताए ।

करिब ४० जना भारतीय टुर अपरेटरसहित आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन् । कार्यक्रममा ‘बी–टु–बी’ सत्र, पर्यटन अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत समावेश गरिएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनलाई चलायमान बनाउन ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’ प्रभावकारी प्लेटफर्म बनेको बताए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : ३१ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ