६ पुस २०८२, आइतबार | December 21, 2025

आहा! आलिताल


६ पुस २०८२, आइतबार  

78
Shares

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ ।

गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ । आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन् ।

आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले रु ९० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष रु २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए । स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको उनको भनाइ छ । तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ । आलिताल आफैमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ । पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए ।

गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाइने बताए। साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए ।

तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए। गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए ।

महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ । धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ । यो तालको गहिराइ २२ मिटर छ । प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलि ताललाई सौन्दर्य बनाएको छ । यो तालमा पुग्न बुडर (डोटी)–जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ ।

आलितालको उत्पत्तिबारे रोचक कथा प्रचलित छन् । स्थानीय जनश्रुतिअनुसार आजको ताल रहेको ठाउँ पहिले ठूलो खेत थियो, जहाँ असारमा धान रोपाइँ हुने गर्दथ्यो । किंवदन्तीअनुसार रोपाइँको अघिल्लो दिन एक महिलाले सपना देखिन् । सपनामा उनलाई चेतावनी दिइएको थियो । ‘भोलि खेतमा रोपाइँ गर्दा अनिष्ट हुनेछ, खेतम नजानु ।’ उनले यो कुरा आफ्ना परिवार र गाउँलेसँग भने । तर उनको भनाइलाई कसैले विश्वास गरेनन् । अर्को दिन हलगोरु र अन्य किसानसँग मिलेर खेतमा धान रोपाइँ गर्न गए ।

रोपाइँका क्रममा अचानक ठूलो वर्षा सुरु भयो । खेतमा विशाल राँगो र नाग प्रकट भए । पानीले खेत डुबायो । यसै घटनाले गर्दा उक्त स्थानमा पानी भरिन थाल्यो र विशाल ताल बनेको जनश्रुति छ । त्यसैले स्थानीयहरूले यो ताललाई ‘आलि ताल’ भनेर चिनाउन थालेका हुन् ।

रोपाइँ गर्नेहरू सबै डुबेर मरे । एकजना महिलामात्र खाना बनाइरहेकी थिइन । उनी जीवित रहिन। पछि शिव भगवानले उनलाई दर्शन दिएर देवी बनाई तालमा बसाइदिएको जनविश्वास छ । खेत (आली) भएको ठाउँमा ताल बनेकाले यसको नाम आलि ताल रहन गएको बताइन्छ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ९ : ४१ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा