विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न चिकित्सकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका हुन्।
गम्भीर अवस्थामा भेटिएका यादवलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान ७ः२५ बजे उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिएका छन्।
यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न चिकित्सकका रूपमा कार्यरत थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनाको कारणबारे विभिन्न कोणबाट अध्ययन भइरहेको जनाइएको छ।



















प्रतिक्रिया