काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल भएको छ ।
शीतल निवासमा भएको छलफलमा प्रधानमन्त्री कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।
जेन–जी आन्दोलनपछि प्रधानमन्त्री कार्कीले राष्ट्रपतिको समन्वयमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतृत्वसँग प्रत्यक्ष संवाद गरेकी यो पहिलो अवसर हो।
छलफल मुख्यतः मुलुकमा निर्वाचनको वातावरण निर्माण गर्ने विषयमा केन्द्रित रहेको छ।
यसअघि राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठन र त्यससँग सम्बन्धित विषयमा प्रधानमन्त्री कार्की तथा प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भने प्रत्यक्ष छलफल भएको थिएन।
प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस र एमालेले सर्वोच्च अदालतमा पुगेको अवस्थामा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग शीतल निवासमा निर्वाचनको वातावरण निर्माणका विषयमा छलफल गरेका हुन्।



















प्रतिक्रिया