बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा केवल पहुँच मात्र होइन, गुणस्तरियता पनि अत्यावश्यक रहेको बताएका छन् । बुटवलमा आज आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री सारुले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान नगरे नागरिकको जीवन रक्षा सम्भव नहुने उल्लेख गरे ।
मन्त्री सारुले भने, “स्वास्थ्य सेवा गुणस्तरीय भएमा मात्र जनताको जीवन बचाउन सकिन्छ। स्वास्थ्य संस्थाले उच्च गुणस्तरिय सेवा प्रदान गर्नुपर्ने आवश्यकता छ ।” उनले रुपन्देहीलाई हेल्थ टुरिजमको रुपमा विकास गर्ने लक्ष्यसहित स्वास्थ्य सेवाको गुणस्तरमा जोड दिनुपर्ने बताए । उनका अनुसार, रुपन्देहीमा रहेका स्वास्थ्य संस्थाबाट प्राप्त सेवा प्रभावका कारण यहाँका नागरिकले प्रत्यक्ष लाभ पाएका छन् र यसले जिल्लालाई स्वास्थ्य पर्यटनको गन्तव्य बनाउन सहयोग पुर्याएको छ ।
साथै, बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्य यस वर्ष करिब ४५ प्रतिशत पूरा हुने जनाउँदै मन्त्री सारुले प्रादेशिक अस्पतालमा सुरु हुने विशिष्टकृत गुणस्तरिय सेवाले जिल्लाको स्वास्थ्य सेवामा नयाँ उचाइ ल्याउने बताए । उनले अस्पतालका लागि यस वर्ष आवश्यक १ अर्ब ६ करोड रुपैयाँको व्यवस्थापन भइसकेको र अस्पताल निर्धारित समयमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
मन्त्री सारुले आगामी वर्षको बजेटबाट सेवा प्रदायक स्वास्थ्य संस्थालाई आवश्यक सहयोग दिने प्रतिबद्धता व्यक्त गर्दै, अघिल्लो वर्ष मन्त्रालयको तर्फबाट पर्याप्त सहयोग नपाएको स्मरण पनि गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा राखिए पनि बजेट नपुगेका कारण स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए । पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले भने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन राज्यको पर्याप्त लगानी आवश्यक रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुटु अस्पतालका लागि आवश्यक जग्गा बुटवलमै खोजिने र अस्पताललाई बाहिर जान नदिने आफ्ना इच्छाबारे जानकारी गराए। कार्यक्रममा उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, रोटरी ३२८२ नेपाल भुटानका अध्यक्ष राजेन्द्र ध्वजु, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, पश्चिम नेपाल बस व्यवसायी प्रा. लिका अध्यक्ष दधिराम खरेल, र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष एजाज आलमले प्रस्तुत प्रतिवेदनमा अस्पताल स्थापना भएको १२ वर्षमा ४ लाख १६ हजारले ओपीडीबाट सेवा लिएको जानकारी दिए । उनले भने कि भवन निर्माणका लागि पहल भइरहे पनि पूर्ण रूपमा सफल हुन सकेको छैन । अस्पतालका निर्देशक डा. समिर गौतमले अव्यवस्थित खानपिन र मानिसको लापरबाहीले मुटु रोगी बढ्दै गएको भन्दै नियमित स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा दशक सम्मानको अवसरमा मोहन बेल्बासे र दिपक कुमारी चौधरी थारुलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै, निरज राना, हरियामा थापा, कृष कार्की, पुष्पा घिमिरे, डा. दिपक शर्मा, विष्णु बहादुर सारु, अर्जुन केवट र प्रेम आलेलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव बावुराम बोहोराले गरेका थिए ।



















प्रतिक्रिया