१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नयाँ वर्षे मनाउँदै गर्दा स्विट्जरल्यान्डको एक बारमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते



काठमाडौं । स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्रान्स-मोन्टानामा नयाँ वर्षको उत्सव मनाइरहेका बेला भीषण आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना भन्दा बढी घाइते भएका छन् । दुर्घटना बिहीबार राति स्थानीय समय अनुसार करिब १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक लक्जरी अल्पाइन स्की रिसोर्टको बारमा भएको हो ।

स्विस प्रहरीका अनुसार नयाँ वर्षको स्वागतका लागि आयोजना गरिएको पार्टीका क्रममा आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानअनुसार बारभित्र स्याम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलरबाट आगो सल्किएको आशंका गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार वेट्रेसहरूले हातमा बलिरहेका स्पार्कलरसहित स्याम्पेन बोतल बोकेर घुमिरहेका थिए । सो क्रममा ती स्पार्कलरहरू काठले बनेको छत नजिक पुगेपछि अचानक आगो सल्किएको थियो ।

घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले भने, “एक वेट्रेस अर्को वेटरको काँधमा उभिएकी थिइन्, उनको हातमा रहेको स्पार्कलर छतसँग अत्यन्तै नजिक पुगेको थियो । केही सेकेन्डमै आगो सल्कियो र चारैतिर फैलियो ।” आगो फैलिनासाथ हल धुवाँले भरिएपछि मानिसहरू भागाभाग गर्न थालेका थिए ।

प्रहरीका अनुसार घटना भएको समयमा बारभित्र ठूलो संख्यामा मानिसहरू नयाँ वर्षको उत्सव मनाइरहेका थिए । धुवाँ र आगोका कारण धेरैजना बाहिर निस्कन नपाई भित्रै फसे । केहीले झ्याल फुटाएर ज्यान जोगाएको बताएका छन् ।

भ्याले क्यान्टनका प्रहरी कमान्डर फ्रेडरिक गिस्लरले पत्रकार सम्मेलनमा मृत्यु हुनेको संख्या अझै पुष्टि हुने क्रममा रहेको बताए । उनका अनुसार प्रारम्भिक अनुमानमा करिब ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

लोजेन युनिभर्सिटी अस्पतालकी निर्देशक क्लेयर शार्मेका अनुसार घाइतेमध्ये अधिकांश १६ देखि २६ वर्ष उमेर समूहका छन् । उनले अस्पतालमा उपचाररत २२ जनामध्ये सबैभन्दा कम उमेर १६ वर्ष रहेको जानकारी दिइन् । गम्भीर घाइतेहरूलाई तत्कालै विशेष उपचार केन्द्रमा सारिएको छ ।

स्विस प्रशासनले घटनास्थल सिल गरी अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक निष्कर्षअनुसार यो घटना दुर्घटनाजन्य रहेको र हालसम्म आतंकवादी आक्रमणको कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । आगलागी कसरी र किन भयो भन्नेबारे विस्तृत प्राविधिक अनुसन्धान जारी रहेको छ ।

नयाँ वर्षको उत्सवमा रमाइलो गर्न भेला भएका सयौँ मानिसबीच भएको यो दुःखद घटनाले स्विट्जरल्यान्डसहित विश्वभर शोकको लहर छाएको छ । स्थानीय प्रशासनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ७ : ५० बजे

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन

म्याग्दी । शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ ।

नेपालगन्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

वर्षाका कारण न्युजिल्याण्ड र पाकिस्तानको खेल रद्द, दुवैले पाए एक-एक अंक

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर-८ चरणको पहिलो

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिन मात्र बाँकी