२३ पुस २०८२, बुधबार | January 8, 2026

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु



दुबई । इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । देशको धर्मतन्त्रले एउटा पश्चिमी प्रान्तमा अशान्तिलाई स्वीकार गरेपछि त्यहाँ सुरक्षा बलले एक अस्पतालमा छापा मारेको बताइएको छ ।

एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ । इरानभित्रैको कार्यकर्ता सञ्जालमा आधारित रिपोर्टिङ यसअघि पनि विश्वसनीय ठहरिँदै आएको छ ।

अर्ध-आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब २५० जना प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । तर सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

सोमबार राति इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इलाम प्रान्तको घटनाबारे ‘पूर्ण अनुसन्धान’ गर्न गृह मन्त्रालयलाई विशेष टोली गठन गर्न निर्देशन दिएका छन । इलामको मालेकशाही क्षेत्रमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको देखिने भिडियो सार्वजनिक भएका छन् । उनले इलाम सहरको अस्पतालमा सुरक्षाबलले छापा मारेको घटनालाई पनि स्वीकार गरेका छन । अनलाइन दृश्यमा दङ्गा नियन्त्रण पोसाकमा सुरक्षाकर्मी अस्पताल प्रवेश गरेको देखिन्छ, जहाँ घाइते प्रदर्शनकारी खोजिएको कार्यकर्ताहरूले बताएका छन् ।

अस्पतालमा भएको घटनाको अमेरिकी विदेश मन्त्रालयले कडा आलोचना गर्दै यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । फार्सले प्रदर्शनकारी सशस्त्र रहेको दाबी गरे पनि त्यसको पुष्टि हुने प्रमाण सरकारले सार्वजनिक गरेको छैन । इराकसँग सीमा जोडिएको इलाम प्रान्त कुर्दिश र लुर समुदायको बसोबास क्षेत्र हो र गहिरो आर्थिक समस्यामा छ ।

बढ्दो मृतक सङ्ख्याले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने चेतावनी दिएका छन । ट्रम्पको उक्त चेतावनीप्रति इरानी अधिकारीहरूले कडा प्रतिक्रिया जनाएका छन् ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले दङ्गाकारीलाई नियन्त्रणमा राख्नुपर्ने बताए पनि विरोध प्रदर्शन अझै शान्त भएको देखिँदैन ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : ५१ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै