काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू तय गरेको छ।
कांग्रेस, नेकपा र मधेशवादी दलसँग चुनावी तालमेल हुँदा आफुले सात सिट पाउने दाबी गर्दै एमालेले उम्मेदवार तय गरेको हो । यद्यपी, मधेस प्रदेशमा भने कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाएको छैन ।
एमालेले रामकुमारी झाँक्रीलाई लुम्बिनीबाट उम्मेदवार बनाएको छ । झाँक्री दुई महिनाअघि माधव नेपालको एकीकृत समाजवादी छोडेर एमालेमा फर्किएकी थिइन । गुल्मी क्षेत्र नं. १ बाट प्रत्यक्षमा उम्मेदवार बन्ने चाहना राखेकी झाँक्रीलाई एमालेले राष्ट्रियसभामा पठाउन लागेको हो ।
यस्तै, कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीबाट प्रेम दंगाल, गण्डकीबाट सम्झना देवकोटा, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीलाई उम्मेदवार बनाउने एमालेले नर्णिय गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ता लिइनेछ।
आगामी माघ ११ गते राष्ट्रियसभाका रिक्त १९ पद मध्ये १८ का लागि निर्वाचन हुने कार्यक्रम रहेको छ। एक पद राष्ट्रपतिबाट मनोनित हुनेछ ।


















प्रतिक्रिया