१० बैशाख २०८३, बिहिबार | April 24, 2026

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले



दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुसँगै मेला, महोत्सवहरुमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरुमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुटेकी छिन् । माघ सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा भेटिइन् । उनले पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको बताइन् ।

आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारू वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउँछिन् । उनले थारूको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरु नाच्न पनि सिकेकी छिन् । “सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उनले भनिन्, “तर अहिले सहज जस्तो लाग्छ । आफ्नो जातिगत वेशभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।”

नृत्यसँगै उनलाई थारू जातिका महिलाहरुले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने गरेको उनी बताउँछिन् । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको उनले बताइन् ।

उनी जस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनहरुमा थारू जातिसँग सम्बन्धित नाचहरुको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१४ का आशा चौधरीे बताउँछिन् । उनी पछिल्लो समय फुर्सदको समयमा थारू नृत्यहरु सिक्नेदेखि कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनले भनिन्, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रुपमा केही आम्दानीसमेत हुने गरेको छ ।” जसले गर्दा आफूलाई हौसला बढाउने काम गरिरहेको उनको भनाइ छ ।

थारू बस्ती बाक्लो भएको गाउँहरुबाट पछिल्लो समय थारू समुदायका युवायुवतीहरु आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रमहरुमा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारू अगुवाहरुको भनाइ छ ।

घोराही उपमहानगरपालिका–७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पु¥याउने बताए । “थारू समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचहरुमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारू संस्कृति संरक्षणमा सघाउ पु¥याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”

थारू जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले सुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । चौधरीले थारू कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताउँछन् । थारू समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बाबुबाजेले जोगाउँदै आएको थारू जातिको कला, संस्कृति संरक्षण र संवद्र्धनमा राज्यको सहयोग पनि आवश्यक रहेको चौधरी बताउँछन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ०९ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना