खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा बालिका विरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणालीको कार्यबिधि सार्वजनिक गरिएको छ । सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र र महिला कानुन र विकास मञ्चद्वारा तयार पारिएको प्रेषण सम्बन्धि कार्यबिधिको आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले हिँसा लुकाउने प्रबृत्तिले समाजमा बालिका र महिलामाथिको हिँसा बढ्ने चेतावनी दिइन् । उनले समाजमा हुने हिँसालाई नलुकाई उजागर गरेमा हिँसा न्युनिकरण भई पिडकहरुलाई कानुनी दायरामा ल्याउन सकिने बताइन् । उपाध्यक्ष मल्लले तयार भएको कार्यबिधिलाई गाँउपरिषदबाट स्वीकृत गराई लागु गर्ने प्रतिबद्धता जनाइन् ।
खजुरा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीलबहादुर पौडेलले कार्यबिधिलाई कार्यान्वयनमा ल्याउन आफुले पहल गर्ने जनाउँदै कार्यान्वयन भए नभएको विषयमा निरन्तर अनुगमन पनि गर्न आवश्यक हुने औल्याए ।
सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका संयोजक अधिवक्ता विश्वजीत तिवारीले महिला तथा बालिकाविरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण कार्यबिधि कार्यान्वयनमा आउन सके स्थानीय समाजमा हुने गरेका हिँसा न्युनिकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा केन्द्रका प्रतिनिधि राकेशकुमार मित्र, खजुरा ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीलगायतले कार्यबिधि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका थिए ।

















प्रतिक्रिया