काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । लामो समयदेखि कांग्रेसको नेतृत्वमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका देउवाले यसपटक चुनावी मैदानबाट अलग रहने निर्णय गरेका हुन् ।
देउवाका तर्फबाट उनका निकट सहयोगी भानु देउवाले विज्ञप्ति जारी गर्दै पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी दिएका छन् । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा आएको यो घोषणाले कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण सन्देश दिएको छ ।
हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले देउवालाई पार्टीको संरक्षकका रूपमा रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै आएको थियो । सोही सन्दर्भमा देउवाले सक्रिय चुनावी राजनीतिबाट एक कदम पछि हट्दै पार्टीलाई मार्गदर्शन गर्ने भूमिकामा सीमित रहने संकेत गरेका छन् ।
२०४८ सालदेखि निरन्तर डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका देउवा उक्त क्षेत्रबाट सात पटक सांसद बनेका अनुभवी नेता हुन् । उनको चुनाव नलड्ने निर्णयसँगै डडेल्धुरा कांग्रेस राजनीतिमा नयाँ नेतृत्व उदाउने सम्भावना बढेको छ ।
यता देउवाको यो निर्णयले उनकी पत्नी आरजु राणा देउवाको राजनीतिक यात्रामा पनि असर परेको छ । कांग्रेसले कैलाली-५ बाट आरजुलाई टिकट नदिई नारायण शाहलाई उम्मेदवार बनाएको छ । देउवाको निर्वाचनबाट अलग हुने निर्णयसँगै कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहस थप तीव्र हुने देखिएको छ ।


















प्रतिक्रिया