बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले) प्रवेश गरेका छन् । कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि यादव एमालेमा प्रवेश गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
एमाले प्रवेशपछि खबरकुरासँग कुरा गर्दै यादवले आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको बताए । कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ ।
यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-४ बाट निर्वाचित सांसद हुन् । सो निर्वाचनमा उनले कांग्रेसका तर्फबाट उम्मेदवारी दिँदै जित हासिल गरेका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।
एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउने तयारी भएको बताइएको छ । एमालेले उनलाई स्थानीय संगठन मजबुत बनाउने र चुनावी प्रतिस्पर्धामा प्रभावकारी भूमिका खेल्ने नेताका रूपमा अघि सारेको छ ।
यादवको एमाले प्रवेशले रुपन्देही-४ को चुनावी समीकरण थप रोचक बनेको छ । कांग्रेसबाट निर्वाचित भइसकेका र स्थानीयस्तरमा पहिचान बनाइसकेका यादव एमालेको तर्फबाट मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा कडा हुने आँकलन गरिएको छ ।


















प्रतिक्रिया