२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला



तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य आजदेखि स्थगित गरिएको छ । उत्खनन सुरु भएको १७ औँ दिनमा प्राविधिक र प्राकृतिक जटिलताका कारण काम रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार बसको केही भाग पानीबाट बाहिर निकालिए पनि बाँकी भाग नदीको गहिरो भागमा गाडिएको तथा धारिलो बहाव र भू-संरचनाका कारण सुरक्षित रूपमा उत्खनन गर्न कठिनाइ भएपछि कार्य अस्थायी रूपमा स्थगित गरिएको हो । “बसको आंशिक भाग निकाल्न सफल भए पनि बाँकी भाग निकाल्न जोखिम बढेपछि सुरक्षा र प्राविधिक मूल्याङ्कनका आधारमा उत्खनन रोकिएको हो,” उनले बताए ।

गत पुस २६ गते त्रिशूली नदी किनारमा उक्त बस भेटिएपछि पुस २७ गतेदेखि निरन्तर उत्खनन कार्य सुरु गरिएको थियो । उत्खननको १६ औँ दिन अर्थात् हिजो बसको भित्री भागबाट मानव कङ्काल फेला परेको थियो । कङ्काल भेटिएपछि घटनाको प्रकृति, पहिचान र सम्बन्धित विवरणबारे थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस उक्त पहिरोमा परी नदीमा हराएको थियो ।

घटनापछि लामो समयसम्म खोजी कार्य गर्दा पनि बस फेला पर्न नसकेपछि खोजी अभियान रोकिएको थियो । तर, करिब छ महिनापछि सोही बस तनहुँतर्फ त्रिशूली नदी किनारमा फेला परेको थियो, जसपछि पुनः उत्खनन कार्य सुरु गरिएको थियो ।

मानव कङ्काल फेला परेपछि घटनाले नयाँ मोड लिएको भन्दै स्थानीय प्रशासनले घटनाको वैज्ञानिक परीक्षण, डीएनए परीक्षण, तथा कानुनी अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । साथै, आवश्यक प्राविधिक सहयोग र सुरक्षाको सुनिश्चितता भएपछि पुनः उत्खनन कार्य अघि बढाइने प्रशासनको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ५२ बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना