१४ माघ २०८२, बुधबार | January 28, 2026

‘संघीयता खारेज र गणतन्त्र-राष्ट्रियता रक्षा’ नारासहित राष्ट्रिय जनमोर्चाको २५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक



बुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन-२०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ४० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् ।

२५ बुँदामा समेटिएको घोषणापत्रमा वर्तमान सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ । घोषणापत्रमा संघीय संरचनाले देशलाई झनै कमजोर बनाएको दाबी गर्दै संघीयता खारेज गरी एकीकृत राज्य संरचना अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले वर्तमान सरकार विदेशी शक्तिहरूको प्रभावमा बनेको आरोप लगाए । उनले एनजीओ तथा आईएनजीओको सहयोगमा गठन भएको सरकारले संविधान र राष्ट्रकै अस्तित्वलाई संकटमा पार्न खोजेको दाबी गरे ।

“वर्तमान सरकार वैधानिक छैन । यो एनजीओ-आईएनजीओले बनाइदिएको सरकार हो,” अध्यक्ष केसीले भने, “विदेशी शक्तिहरूले आफ्ना स्वार्थ पूरा नभएपछि ‘जेनजी आन्दोलन’को नाममा सरकार परिवर्तन गराएर एनजीओका प्रतिनिधिहरूलाई सत्तामा पुर्‍याइएको छ ।”

केसीले यस्तो अवस्था आउनुमा राजनीतिक दलहरूको कमजोरी पनि जिम्मेवार रहेको स्वीकार गरे । विगतमा जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा आज मुलुक गम्भीर संकटमा पुगेको उनको भनाइ छ । “नेपालको इतिहासमा यति ठूलो संकट अहिलेसम्म आएको थिएन,” उनले भने, “आज राष्ट्रियता नै अप्ठ्यारो अवस्थामा पुगेको छ ।”

अध्यक्ष केसीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै अब राजनीतिक दलहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । नयाँ दलहरूप्रति टिप्पणी गर्दै उनले परिवर्तनको नाममा जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाए ।

“नयाँ जोगीले झन् धेरै खरानी घसेर आएका छन्,” उनले भने, “यदि यस्ता शक्तिहरूको हातमा मुलुक गयो भने संविधान मात्र होइन, राष्ट्र नै संकटमा पर्छ ।”

उनले एनजीओ तथा आईएनजीओबाट लाभ लिइरहेका केही व्यक्तिहरू विदेशी शक्तिहरूको योजनाअनुसार नेपाली जनतालाई भ्रमित गरिरहेको आरोप पनि लगाए । परिवर्तन र नयाँपनको नाममा कृत्रिम एजेन्डा अघि सारेर राष्ट्रमाथि आक्रमण भइरहेको भन्दै त्यसविरुद्ध राष्ट्रिय जनमोर्चा दृढतापूर्वक उभिने उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ३५ बजे

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व-पश्चिम