बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय समितिको नव निर्वाचित नेतृत्वलाई सम्मान गरेको छ । इक्यान रुपन्देहीले शुक्रबार रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा आयोजित वनभोज कार्यक्रमसहित केन्द्रीय नेतृत्वलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रियु’ले शैक्षिक परामर्शदाताहरूलाई थप मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि प्रदेशस्तरमा स्पष्ट कानून निर्माणको आवश्यकता रहेको बताए । शैक्षिक परामर्शदाताप्रति राज्यको दृष्टिकोण अझै पनि पर्याप्त रूपमा सकारात्मक नभएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक नीति तथा कानूनी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।
केन्द्रीय अध्यक्ष पौडेलले इक्यान र यसका सदस्यहरूको व्यावसायिक सुरक्षा तथा मर्यादा अभिवृद्धिका लागि ५१ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा पनि गरे । सो अक्षयकोषका लागि उनले आफ्नो तर्फबाट ११ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा इक्यानका निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, तथा इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर कुंवरलगायतले नव निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, विश्वसनीय र पेशागत रूपमा मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए ।
इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले केन्द्रीय समितिको नयाँ नेतृत्वलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन इक्यान रुपन्देहीका सचिव उपेन्द्र यादवले गरेका थिए ।
आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले संघ-संस्थाबीच आपसी सहकार्य, एकता र पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया