१९ असार २०८३, शुक्रबार | July 3, 2026

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे



बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पामा अधुरा रहेका विकास निर्माणका आयोजना सम्पन्न गर्न आफू निर्वाचनमा होमिएको बताएका छन् ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले २०७९ सालको निर्वाचनमा पराजय भोगेपछि पाल्पामा विकासका कामले गति लिन नसकेको दाबी गरे । त्यसपछि पाल्पाबासीकै आग्रह र दबाबका कारण पुनः निर्वाचनमा उम्मेदवारी दिएको उनले बताए ।

‘२०७९ को निर्वाचनपछि पाल्पामा अपेक्षित रूपमा विकासका काम अघि बढ्न सकेनन्,’ पाण्डेले भने, ‘त्यसैले अधुरा आयोजना पूरा गर्न पुनः उम्मेदवार बन्न आग्रह आयो, म जनताको चाहनालाई बेवास्ता गर्न सकिनँ।’

पूर्वमन्त्री पाण्डेले आफू पदमा रहँदा मात्रै होइन, पदमा नरहँदा पनि पाल्पाको विकासका लागि निरन्तर पहल गर्दै आएको दाबी गरे । मन्त्री हुँदा प्रधानमन्त्री र अर्थमन्त्रीका जिल्लाभन्दा पनि पाल्पामा बढी बजेट ल्याएको उल्लेख गर्दै उनले व्यक्तिगत फाइदाका लागि कहिल्यै अनियमितता नगरेको स्पष्ट पारे ।

‘म मन्त्री हुँदा व्यक्तिगत फाइदाको लागि कुनै काम गरेको छैन,’ उनले भने, ‘पाल्पाको विकासका लागि इमानदारीपूर्वक काम गरेको कुरा सबैलाई थाहा छ।’

उनले सिद्धबाबा सुरुङमार्ग निर्माणमा आफूले निर्णायक भूमिका खेलेको दाबीसमेत गरे । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट सुनिश्चित गर्न आनाकानी गरेपछि अनशन बस्ने चेतावनी दिएपछि मात्रै १० अर्ब रुपैयाँ बजेट सुनिश्चित भई सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढेको उनले बताए ।

‘सिद्धबाबा सडकमा करिब एक हजार नागरिकले ज्यान गुमाइसकेका छन्,’ पाण्डेले भने, ‘नागरिकको जिउ-ज्यानभन्दा ठूलो कुरा केही हुँदैन भन्ने अडान लिएपछि मात्रै सुरुङमार्गको बजेट सुनिश्चित भयो।’

पाल्पा बुटवलसँग नजिक रहेकोले यसलाई महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै पाण्डेले आफू निर्वाचित भए पाल्पामा नेपालको सबैभन्दा ठूलो बुद्ध गार्डेन मूर्ति निर्माण गर्ने योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, पाण्डेले भदौ २३ गते भएको आन्दोलनलाई युवापुस्ताको शुद्ध भावनाबाट आएको बताए पनि भदौ २४ गतेको आन्दोलनमा व्यापक चलखेल भएको आरोप लगाए । ‘२३ गतेको आन्दोलन शुद्ध थियो, तर त्यसपछिका गतिविधिमा चलखेल भयो,’ उनले भने, ‘यसले संघीय लोकतान्त्रिक गणतन्त्र नै जोखिममा परेको संकेत गर्छ।’

पूर्वमन्त्री पाण्डेले सर्वोच्च अदालतमा भएको घटनालाई केवल भवनमा लागेको आगो मात्र नभई नेपालीको सार्वभौमिकतामाथिको प्रहारका रूपमा व्याख्या गरे । नेकपाले भदौ २३ गतेको आन्दोलनलाई पूर्ण समर्थन जनाएको उल्लेख गर्दै जेन-जी पुस्ताको जायज माग आफूले पूरा गर्न सक्ने दाबी गरे ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ३ : १२ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले