२२ माघ २०८२, बिहिबार | February 5, 2026

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग



काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ । पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गरेको नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो ।

नेपाल र क्यानडाबीचको खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम मैदानमा दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई सात विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो ।

यूएईविरुद्धको जितपछि नेपाली टोली उच्च मनोबलमा देखिएको छ । क्यानडाविरुद्ध पनि जित निकाल्दै विश्वकपका लागि थप ऊर्जा बटुल्ने लक्ष्यमा नेपाल रहेको छ ।

विश्वकप तयारीका क्रममा नेपालले यसअघि भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट-११ सँग दुई अभ्यास खेल खेलेको थियो । त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत पुगेको हो ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै टी-२० विश्वकपको औपचारिक सुरुवात गर्नेछ । नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।

समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । समूह चरणका सबै खेल मुम्बईमा आयोजना हुने तालिका छ । नेपाली टोलीका खेलका सबै टिकट बिक्री भइसकेका छन् ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ का टी-२० विश्वकप खेलेको थियो । सन् २०२६ को प्रतियोगिता नेपालको तेस्रो विश्वकप सहभागिता हो ।

टी-२० विश्वकपका लागि नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम ।

यस विश्वकपमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई रहेका छन् ।

समूह चरणका शीर्ष दुई टोली सुपर-आठमा पुग्नेछन् । सुपर-आठलाई दुई समूहमा विभाजन गरिनेछ र त्यहाँबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले विश्वकपमा नेपालले शतप्रतिशत नतिजा दिने लक्ष्यसहित मैदान उत्रिने बताएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : ०० बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा