२२ माघ २०८२, बिहिबार | February 5, 2026

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था



उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका-८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे-घरअगाडिको सडक कालोपत्र भएको । त्यो सपना भने अझै पूरा भएको छैन । फेरि यसपटक चुनावी माहोल छ, चुनावमा सपनाहरू बाँड्न सुरु भइसकेको छ, तर विसं २०६४ देखि हालसम्म चारवटा चुनावमा भोट मागेका कसैले पनि ती सपना पूरा गर्न सकेका छैनन् । त्यही कारण उनले भोट हालेका कोही पनि दोहोरिएर आएका छैनन् ।

उम्मेदवार फेरिए, तर तामाङले धुलोबारे गुनासो गर्नुपर्ने र समस्या भोग्नुपर्ने नियति फेरिएको छैन । “यो हाम्रो विडम्बना नै भन्नुपर्छ, जुन सडक कालोपत्र गर्ने आश्वासन बोकेर नेताहरू चुनाव जितेर गए, आज पनि त्यही सडक उस्तै जीर्ण, धुलाम्मे र जोखिमपूर्ण अवस्थामा छ । हाम्रा दुःख उस्तै छन्”, उनले भने ।

हाल फेरि उदयपुर-२ मा चुनावी सरगर्मी बढेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवारहरू छन् । उनीहरू यहाँका ९६ हजार १२२ मतदाताको घरदैलोमा पुग्न कस्सिरहेका छन् । टोल-टोलमा पार्टीका सम्पर्क कार्यालय खुलेका छन् । क्षेत्रको केन्द्र मानिने कटारी बजारमा सबै प्रमुख दलहरूले क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवारको दौडधुप बढाइरहेका छन् । घरदैलो कार्यक्रम पनि जारी छ, तर मतदाताको मनमा भने उत्साह होइन, आक्रोशको ‘हुरी’ चलिरहेको छ । प्रश्न उही छ- के यो पटकको चुनावपछि सिद्धिचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मी खण्डले नयाँ रूप पाउला ? कि अर्को चुनावमा पनि यो सडक फेरि ‘भोट माग्ने मुद्दा’ मात्रै बन्ला ?

बेदबहादुरका लागि यो सडक केवल आवतजावतको गर्ने आधार मात्रै होइन, यो दुई दशकदेखिको यहाँको राजनीति र राज्यले दिएको निरन्तरको धोका हो । आफ्नो पसलको तखतामा जमेको धुलोको बाक्लो तह देखाउँदै उनी भन्छन, “चुनाव आउँदा नेताका चिल्ला कुराले मनै लोभ्याउँछ, तर जितेर गएपछि उनीहरूले उडाएको धुलोले हाम्रो आँखा मात्र होइन, भविष्य नै धमिलो पारिदिन्छ । २० वर्षअघि पनि यही सडक बन्छ भनेर भोट मागियो, आज पनि त्यही भन्दैछन् । हामी त केवल भोट हाल्ने मेसिन मात्र भयौँ, केवल भोट बैङ्क ।”

तामाङको स्वरमा आक्रोश मात्र होइन, राज्यप्रतिको चरम अविश्वास पनि झल्किन्छ । उनी भन्छन, “यदि कसैलाई यो गफ मात्रै हो भन्ने लागिरहेको छ भने एकपटक मोटरसाइकल चढेर कटारीदेखि घुर्मीसम्म पुगेर हेरोस् । धुलोले अनुहार नचिनिने भएर फर्किंदा मात्रै हाम्रो पीडा थाहा हुन्छ । नेताहरू त गाडिभित्र सिसा थुनेर हिँड्छन्, उनीहरूलाई बाहिरको धुलोले के पो छुन्थ्यो र !”

तामाङको यो आक्रोश केवल एउटा व्यक्तिको मात्र होइन, सिङ्गो उदयपुर-२ को साझा आवाज हो । त्यही आवाजका कारण आफ्नो सपना पूरा गरिहाल्छन् कि भनेर यहाँका मतदाताले पछिल्लो दुई दशकमा हरेक निर्वाचनमा प्रतिनिधि फेरिरहन्छन् । यो विकास नभएपछिको एक प्रकारको ‘मौन जनविद्रोह’ पनि हो भन्नेहरू धेरै छन् । यस सडकखण्डको रूप फेर्ने आशासहति यहाँका जनताले पालोपालो सबै मुख्य दललाई जिम्मेवारी दिए, तर त्यो कसैले पनि पूरा गर्न नसकेको स्थानीयको गुनासो छ ।

विसं २०६४ मा तत्कालीन नेकपा (माओवादी) का मोहनबहादुर खत्री, विसं २०७० मा नेपाली कांग्रेसका नारायणबहादुर कार्की, विसं २०७४ मा नेकपा (एमाले)-माओवादी गठबन्धनबाट सुरेशकुमार राई र पछिल्लो पटक २०७९ सालमा एमालेका अम्मरबहादुर रायमाझीलाई निर्वाचित गराएर यहाँका बासिन्दाले ठूलो भरोसा राखेका थिए । जो प्रतिनिधि चुनिए पनि सिद्धिचरण राजमार्ग एवं हलेसी जोड्ने यो मार्ग केवल चुनावी भाषण र आश्वासनको सस्तो विषय मात्र बन्यो । “जुन पार्टीका नेता आए पनि हाम्रो पीडा कसैले बुझेनन्”, कटारी-११ कटुन्जेका स्थानीय युवा बिजेन्द्र रानामगर आक्रोश पोख्दै भन्छन, “नेताहरू त चिल्ला गाडीको सिसा थुनेर धुलो उडाउँदै हिँड्छन्, हामी भने त्यही धुलोबाट रोग र भोकसँग लड्न बाध्य छौँ ।”

बहत्तर किलोमिटर लामो सिद्धिचरण राजमार्ग माथिल्लो सगरमाथाका तीन जिल्लाहरू-सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई कोशी प्रदेशको राजधानी विराटनगरसँग जोड्ने ‘लाइफलाइन’ हो । यही लाइफलाइन अहिले जीर्ण हुँदा मृत्युरेखा जस्तै बनेको छ ।

विसं २०३४ मा मिर्चैया-कटारी ‘ट्र्याक’ खुलेपछि २०४८ मा स्व बलबहादुर राईको पहलमा कटारी-ओखलढुङ्गा सडक निर्माण सुरु भयो । विसं २०५८ देखि राजमार्गको कटारी-घुर्मी खण्ड (४६ किमी) मा यातायात सञ्चालन भए पनि दुई दशकसम्म यसको अवस्था फेरिएन । घुर्मी-ओखलढुङ्गा खण्ड कालोपत्र भइसक्दा मिर्चैया-कटारी-घुर्मी (७२ किमी) खण्ड भने अझै उपेक्षित छ । त्यसैले, दुई घण्टाको दूरी भएको सडममा पाँच घण्टाभन्दा बढी समय लगाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

यो सडकखण्ड रणनीतिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण छ । कटारी-घुर्मी खण्ड दक्षिणमा मदन भण्डारी लोकमार्ग र महेन्द्र राजमार्गलाई जोड्छ भने उत्तरमा घुर्मी पुगेर मध्यपहाडी लोकमार्ग हुँदै बिपी राजमार्गमार्फत काठमाडौंसम्मको सम्पर्क सूत्र हो । यति महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति नहुँदा सिङ्गो पूर्वी पहाडको अर्थतन्त्र र जनजीवनलाई नै पछाडि धकेलेको छ ।

पूर्वको पशुपतिनाथ मानिने प्रसिद्ध धार्मिकस्थल हलेसी जाने मुख्य मार्ग यही हो । तराई-मधेसदेखि हलेसी जाने तीर्थयात्रीहरू कैयौँ पटक यहाँ दुर्घटनाको सिकार भएका छन् । जोखिमपूर्ण यात्राकै कारण पर्यटकहरू यो बाटो प्रयोग गर्न हिच्किचाउँछन् । यस सडकका ‘सुपरभाइजर’ कुमार प्याकुरेल भन्छन, “एकपटक यो बाटो प्रयोग गरेका यात्रुहरू दोहोरिएर आउन चाहँदैनन् । साना सवारीसाधनलाई ४६ किलोमिटर पार गर्न तीन घण्टा लाग्छ भने ठूला सवारीसाधनलाई छदेखि सात घण्टा । त्यसैले यात्रुहरू वैकल्पिक घुमाउरो सिन्धुली-खुर्कोट-घुर्मीको बाटो प्रयोग गर्न बाध्य छन् ।”

सडक नबन्दा सबैभन्दा बढी मार व्यापार र स्थानीयको दैनिकीमा परेको छ । यहाँका नागरिकलाई लत्ताकपडा, खाद्य सामग्री मात्र होइन, खेतबारीको अन्नबाली र तरकारी जोगाउन पनि कठिन भएको छ ।

कटारी बजार आफैँमा ऐतिहासिक छ । तेञ्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारी सगरमाथा चढ्न जाँदा यहीबाट पैदल हिँडेर गएको इतिहास छ । त्यसैले यसलाई ‘सगरमाथाको प्रवेशद्वार’ भनिन्छ, तर यही प्रवेशद्वारका व्यवसायीहरू पलायनको बाटो रोजिरहेका छन् ।

विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सपना बोकेका धेरै युवाको सपना पनि यही सडकले कुल्चिएको छ । पाँच वर्ष कतारमा पसिना बगाएर फर्किएका अमर मोक्तानले आफ्नै ठाउँमा केही गरौँ भनेर बेतिनीमा किराना पसल खोले, तर १४ वर्षदेखिको धुलोले उनलाई अहिले निराश बनाएको छ । “सामान राख्नै गाह्रो छ । धुलोबाट जोगाउनै मुस्किल छ”, उनी भन्छन, “धुलोले सामान बिग्रिन्छ, ग्राहक आउँदैनन् । अनि कसरी चल्छ व्यवसाय ?”

व्यवसायीहरूको यो पीडा अमर मोक्तानमा मात्र सीमित छैन । गहुँबारीका युवा व्यवसायी कुमार श्रेष्ठको अनुभवमा पनि सडकको यो दुरावस्था व्यापारका लागि ‘पासो’ बनेको छ । जीर्ण बाटोकै कारण सेवाग्राही नआउँदा व्यवसाय थप धराशयी बन्दै गएको उनको भनाइ छ ।

यही सडकको धुलोले सपनाहरू यसरी उडाइदियो कि, हर्देनीमा करिब रु पाँच लाख लगानी गरेर होटल सुरु गरेका धिरज भुजेलले छ महिनाअघि आफ्नो थातथलो मात्र छोडेनन्, वैदेशिक रोजगारीका लागि मरुभूमि भासिन बाध्य भए । यस्तै, कटारी-११ गहुँबारीका सञ्चिव बस्नेतले त छ वर्षसम्म गरेको सङ्घर्षलाई तिलाञ्जली दिँदै व्यापार नै बन्द गरे । धुवाँ र धुलोले पसलका सामान मात्र होइन, सपना नै चौपट पारेपछि उनी फेरि पुख्र्यौली पेसा खेती किसानीमै फर्किएका छन ।

“धुलो खाएर व्यापार गर्नुभन्दा बरु माटो खनेर कृषिकर्ममै लाग्नु ठीक लाग्यो, यसैबाट जीविकोपार्जन त चलेको छ”, बस्नेत भन्छन, “यदि यो सडक बनेको भए यहाँको बजारमा अर्कै चहलपहल हुने थियो । महाभारत क्षेत्रको यो शीतल हावापानीमा गर्मी छल्न तराईका सिरहा र सप्तरीदेखिका मानिसहरू आउने थिए । प्रकृतिले दिएको यो स्वर्ग जस्तो ठाउँलाई सडकको बेवास्ताले नर्क जस्तै बनाइदियो ।”

शिक्षा र स्वास्थ्यको क्षेत्रमा यो सडकले पारेको प्रभाव त झन् भयावह छ । सडकको धुलो केवल पसलका तखतामा मात्र होइन, विद्यालयका कक्षाकोठा र कलिला बालबालिकाको फोक्सोसम्म पुगेको छ । कटारी-११ हर्देनीस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश रायमाझीको प्रश्नले राज्यको लाचारीलाई गिज्याइरहेको छ । उनी भन्छन, “हाम्रा विद्यार्थीहरू विद्यालय आउँदा बाटोभरि दिनकै एक मुठी धुलो खाएर कक्षामा छिर्छन् । एकछिन उभिएर हेर्नुस् त, ती बालबालिकाले लगाएको कपडाको रङ धुलोले चिन्नै नसकिने भएको हुन्छ । यो केवल सडकको कुरा होइन, यो त बालबालिकाको स्वास्थ्य र उनीहरूको भविष्यमाथि गम्भीर खेलबाड हो । उनीहरूको यो बिग्रँदो स्वास्थ्यको जिम्मेवारी अब कसले लिने रु”

उनका अनुसार धुलोका कारण विद्यार्थीहरूमा निरन्तर खोकी लाग्ने, आँखा चिलाउने र श्वासप्रश्वासको समस्या बढ्दै गएको छ । सिद्धिचरण राजमार्गको यो दुरावस्थाले यहाँको वर्तमान मात्र होइन, आउँदो पुस्तालाई समेत गम्भीर समस्यामा पारेको छ ।

यही सडक स्तरोन्नतिका लागि कटारीस्थित मिर्चैया-कटारी-घुर्मी सडक योजना कार्यालय स्थापना भएको पाँच वर्ष भएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार मिर्चैयादेखि कटारीसम्मको २६ किलोमिटर सडक स्तरोन्नतिको चरणमा छ, तर मरुवा खोलादेखि घुर्मीसम्मको अवस्था नाजुक छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब तीन करोड विनियोजन भए पनि विभिन्न आन्दोलन र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता प्रक्रियागत कारण ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन । कुल रु १० अर्बको लागत अनुमान गरिएको आयोजनामा यस वर्षको बजेट ‘फ्रिज’ हुने डर उत्तिकै छ । “२०८२ को मापदण्डबमोजिम बहुवर्षीय फाइल अगाडि बढाइएको छ, तर स्रोत सुनिश्चित नभएकाले ठेक्का प्रक्रिया अन्योल छ”, महतो भन्छन ।

सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयले अब हारगुहार गर्न बाँकी कुनै ठाउँ छैन । स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद्का प्रतिनिधिसम्म, मन्त्रालयका कोठादेखि सडकको चक्काजामसम्म सबै उपाय अपनाइसके । “आश्वासनका फाइल बोकेर मन्त्रालय धाउँदा-धाउँदा कतिपयका जुत्ता फाटे, तर सडकको अवस्था फेरिएन । अब त गुनासो गर्ने ठाउँ पनि छैन”, स्थानीयले भन्ने गरेका छन् ।

हाल फेरि चुनावी उत्सव छ । आगामी फागुन २१ पछि उदयपुर निर्वाचन क्षेत्र २ ले फेरि नयाँ प्रतिनिधि त पाउला, तर के जीर्ण सडकले नयाँ रूप पाउलारु कि अर्को चुनावमा पनि यही सडक फेरि ‘भोट माग्ने मुद्दा’ र ‘राजनीतिक नारा’ मात्रै बन्ला रु धुलोले अनुहार नचिनिने भएका नागरिकहरू अब भन्न थालेका छन्, “हामीलाई आश्वासन मात्र दिने नेता होइन, कालोपत्र सडक चाहियो ।” सुदिप राउत/रासस

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ८ : ३७ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं