२४ माघ २०८२, शनिबार | February 7, 2026

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्ने बताएका छन। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै थापाले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घरघरसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको भन्दै पार्टी अब देश बदल्ने अभियानमा लागेको सन्देश गाउँ र घरघरसम्म पुर्‍याउनुपर्ने धारणा राखे। “कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन, यो सन्देश घरघरमा पुर्‍याउनुपर्छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्छ”, उनले भने । अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस भएर आएको उनको भनाइ छ ।

सभापति थापाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्नका लागि कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको उल्लेख गरे । उनले विशेष महाधिवेशनमा कसैले जितेको र हारको नभई पार्टीले जितेको बताए । “सबै पक्षलाई मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस हो । मुलुकमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जानेछ”, उनले भने ।

कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए। उनले भदौ २३ र २४ को आन्दोलनले आफूहरूलाई पनि खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरणमार्फत पार्टी निर्वाचनमा होमिएको उल्लेख गरे ।

महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु पार्टी नभएको बताउनुभयो । समाजको चाहनाअनुसार नयाँ ढङ्गबाट पार्टी अघि बढिरहेको उनको भनाइ छ । जनताले चाहेजस्तो नेतृत्व कांग्रेसले ल्याएको भन्दै उक्त नेतृत्वले देश बदल्ने अठोट लिएको उनले बताए ।

कांग्रेस काठमाडौं क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद श्यामबहादुर खड्काले काठमाडौं क्षेत्र नं ५ को विकासका लागि पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए । उनले नयाँ नेतृत्वसहित आएको पार्टीले देशको विकास गर्ने उल्लेख गरे । उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नं ५ को निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ७ : ५९ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको