जुम्ला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी गतिविधि गर्माएको छ । उम्मेदवारहरु जुम्लामा प्रवेश गरेदेखि स्थानीय पनि चुनावी माहोलमा होमिएका छन् । नयाँदेखि पुराना दलसम्मका अथवा राजनीतिमा खारिएकादेखि भर्खर उदाएकाहरूबीच चुनावी भिडन्त हुन लागेकाले चासो बढेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ एक स्वतन्त्रसहित नौ वटा विभिन्न राजनीतिकदलका उम्मेदवार चुनावी प्रतिस्पर्धीमा रहेका छन् ।
यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, नेपाली कांग्रेसका दीपबहादुर शाही, नेकपा (एमाले)का शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावत, नेपाल जनता पार्टीका रनिल विक्रम शाही, नेकपा ९माओवादी० बाट बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल उम्मेदवार छन् ।
उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि सुनसान हुने गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका सार्वजनिकस्थल र चिया पसलमा चुनावी बहस तीव्र हुने थालेको छ । विसं २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही विजयी भएका थिए ।
सामान्यतया जुम्लाका मतदाताहरूले स्वविवेकका आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ । यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन् ।
यस्तो छ चुनावी गणित
जुम्लामा २०६४ को संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी)बाट नरेश भण्डारी अत्यधिक मतले विजयी भएका थिए। विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका ललितजङ्ग शाही विजयी हुनुभएको थियो । विसं २०७४ मा भएको निर्वाचनमा माओवादी र एमालेलगायत अरु पार्टीसँग गठबन्धन हुँदा माओवादीबाट पुनःगजेन्द्र महत विजयी भएका थिए ।
विसं २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका दलको गठबन्धन भएको थियो । तत्कालीन समयमा राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएका थिए।
समानुपातिकतर्फको मत परिमाण
विसं २०७९ को आमनिर्वाचनमा सामानुपातिकतर्फको सबैभन्दा बढी नेकपा एमाले १० हजार ५४८ मत ल्याएको छ । कांग्रेसले १० हजार ४७३ मत ल्याउँदा माओवादी (नेकपा)ले आठ हजार ९६० र राप्रपाले पाँच हजार ७९६ मत लिएको छ । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तहमध्ये छ वटामा कांग्रेस र दुई वटामा माओवादीले जितेको थियो ।
निर्वाचनका लागि जिल्लामा कूल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना छन् । जसमा महिला ३४ हजार २८० जना र पुरुष ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए। एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा जुम्लामा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म मत माग्न घरदैलोमा सक्रिय बनेका छन् । मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन् ।
यस्तै, नेकपा एमालेले आफ्नो उम्मेदवारलाई जिताउन सङ्गठनात्मक गतिविधि तीव्र पारेको छ । वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन् । पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई तीव्र बनाएको नेकपा एमाले जुम्लाले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ । मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय सङ्गठनका बैठक तथा प्रशिक्षण कार्यक्रमलगायत गतिविधि गरेको छ । निर्वाचनका लागि एक हजार ९९९ जना निर्वाचन परिचालन समिति गठन गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य गोमा गौतमले बताए ।
प्रकाशित मिति :
२५ माघ २०८२, आइतबार ५ :
१७ बजे
प्रतिक्रिया