५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड



रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको बताएका छन् ।

चुनावी अभियानका क्रममा रुकुमपूर्वको विभिन्न विकट स्थानको भ्रमणपछि आज सदरमुकाम मुसिकोटमा पत्रकार सम्मेलन गर्दै उनले भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गरेका हुन्।

प्रचण्डले जेन्जी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताए । उनले विशेषगरी २३ गते भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गरे। “२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं। त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं,” उनले भने ।

प्रचण्डका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमिक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत हो। “गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ। यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,” उनले चेतावनी दिए ।

त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उहाँले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गरे। “त्यो नेपाललाई नियन्त्रणमा राख्न चाहनेहरूको इसारामा चल्ने प्रवृत्ति हो,” उनले स्पष्ट गरे ।

प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताए। “यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं। २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ,” उनले भने ।

प्रचण्डले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताए। कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको उनले जोड दिए। साथै, देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको उनले स्पष्ट गरे ।

“जनताले अब फैसला गर्नुपर्छ। सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ। देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ,” उनले भने। आफू देश दुर्घटनामा नजाओस् र समाजवादको यात्रामा अघि बढोस् भन्ने संकल्पका साथ अघि बढिरहेको उनले दोहोर्‍याए ।

निर्वाचनबारे भइरहेको ‘फिक्सिङ’को चर्चा अस्वीकार गर्दै उनले निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्ने दाबी गरे। “देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्छ। देश र जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै हो,” उनले भने ।

चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले आफ्ना अनुभव समेत सार्वजनिक गरे।

प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताए । “सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ,” उनले भने ।

प्रचण्डका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ। “यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,” प्रचण्डले भने। रुकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उनले त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताए । अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै संयोजक प्रचण्डले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गरे। “देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुमपूर्व आएको हुँ। यहाँबाट जाने सन्देश देशकै लागि महत्वपूर्ण हुन्छ,” उनले भने ।

जनयुद्धको आधारभूमिमा आएर जनयुद्ध दिवस मनाइएको र त्यसको स्मरणमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरी प्रमाणपत्र वितरण गरिएको जानकारी दिँदै उनले देशभरिका सहिद परिवार, बेपत्ता परिवार तथा घाइते–अपाङ्गहरू यसबाट उत्साहित भएको बताए ।

रुकुमपूर्व जनयुद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उनले यहाँको सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको धारणा राखे। “समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो। त्यो सम्भावना यहाँबाट देखिन्छ,” उनले जोड दिए ।

संयोजक प्रचण्डले रुकुमपूर्वको विकास र जनताको हितका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै अभियानलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ४८ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा