काठमाडौं । नेपाली कांग्रेसले आज मधेश प्रदेशको राजधानी जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा हुने प्रतिज्ञा सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने कार्यक्रम तय भएको हो ।
प्रतिज्ञा सभामा कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी एक लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको पार्टीले जनाएको छ ।
कांग्रेसका अनुसार जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभा केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको छ । मधेशको ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्वलाई मध्यनजर गर्दै प्रतिज्ञापत्र सार्वजनिक गर्न जनकपुरधाम छनोट गरिएको पार्टीले जनाएको छ ।
मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले मधेश आन्दोलनपछि नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मुख्य एजेण्डाका रूपमा अघि बढाएको बताए । उनले सभापति गगन कुमार थापा स्वयं सर्लाही क्षेत्र नम्बर-४ बाट उम्मेदवार बनेर मधेशका जनतासँग प्रत्यक्ष जोडिनु मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण सन्देश भएको उल्लेख गरे ।
उनका अनुसार कांग्रेसले मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण तथा सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
जनकपुरधाममा सार्वजनिक गरिएको प्रतिज्ञापत्रबारे काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पनि पत्रकार सम्मेलन गरी जानकारी दिइनेछ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आज अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत प्रतिज्ञापत्रका मुख्य विषय सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।


















प्रतिक्रिया