काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको नयाँ युग सुरु भएको ऐतिहासिक दिन भएको बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । साथै, प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ओलीले प्रत्येक फागुन ७ ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, संविधानको संरक्षण गर्ने तथा जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवन्त राख्ने जिम्मेवारी स्मरण गराउने उल्लेख गरेका छन् । उनले विध्वंसबाट क्षतिग्रस्त भएका राष्ट्रिय सम्पदा, समृद्ध सांस्कृतिक परम्परा, उद्योग तथा पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न सबैलाई जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले यस ऐतिहासिक दिनबाट प्रेरणा लिएर राष्ट्र निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सबै नागरिकलाई जागरूकतापूर्वक अघि बढ्न आह्वानसमेत गरेका छन् ।


















प्रतिक्रिया